News

Dec 25, 2008

कांग्रेसले बहिस्कार गरेपछि सदन तेस्रो दिन पनि स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी दल कांग्रेसले बहिस्कार गरेपछि व्यवस्थापिका संसद्को बैठक बुधबार तेस्रो दिन पनि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । दलित जनजाति पार्टी र स्वतन्त्र सभासद्द्वय बबन सिंह र सदरुल मिया हकले पनि बुधबार कांग्रेसलाई साथ दिँदै बैठक बहिस्कार गरेका छन् । प्रमुख प्रतिपक्षी दल नै बैठक छाडेर हिँडेपछि सभामुख सुवास नेम्वाङले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाएर शुक्रबारसम्मका लागि संसद् स्थगित भएको घोषणा गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा गरेको प्रतिबद्धताअनुसार आफ्ना माग कार्यान्वयन नभएको भन्दै कांग्रेसले यसअघिका दुई बैठक बहिस्कार गरिसकेको छ । आफ्ना माग कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्रीले सदनसमक्ष जानकारी गराउनुपर्ने माग कांग्रेसले गर्दै आएको छ ।बुधबारको बैठक सुरु हुनासाथ दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले सरकारले ल्याएको छात्रवृत्ति विधेयकमा घटाइएको दलित कोटा बढाइनुपर्ने र संविधानसभाका सबै समितिमा मुस्लिम सभासद्को सहभागिता गराइनुपर्ने माग गर्दै आफू र दुई स्वतन्त्र सभासद्ले बैठक बहिस्कार गर्ने घोषणा गरे । उनीसँगै स्वतन्त्र सभासद्द्वय सिंह सदरुल मिया बैठकबाट बाहिरिए ।बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मण घिमिरेले गणतन्त्र ल्याउन सामन्तवादको प्रतीकका रूपमा रहेको राजसंस्था फालिए पनि माओवादी 'नवसामन्तवाद' का रूपमा देखा परेको आरोप लगाए । उनले शान्तिसुरक्षाको अवस्था तहसनहस बनाउन ९९ सय प्रतिशत माओवादी भ्रातृ संगठनहरूको भूमिका रहेको जिकिरसमेत गरे ।प्रधानमन्त्री प्रचण्डले गत २६ कात्तिकमा सदनमा गरेको प्रतिबद्धताअनुसार आफ्नो पार्टीले अघि सारेका माग कार्यान्वयन नभएको भन्दै उनले बुधबारको बैठक पनि बहिस्कार गर्ने घोषणा गरे । त्यसपछि कांग्रेस सभासद्हरू बैठकबाट बाहिरिएका थिए । त्यसअघि एमाले सभासद् शंकर पोखरेलले दलहरूबीच सहकार्य र सहमति बढ्नुपर्ने वेला दूरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले युथफोर्सका नाममा वीरगन्जको अंकुश साप्ताहिकका सञ्चारकर्मीमाथि भएको आक्रमणबारे आफ्नो पार्टी गम्भीर भएको बताए । उनले सो घटनामा संलग्नलाई कारबाही गर्न सरकारलाई सुझाव दिए ।

No comments: