News

Dec 30, 2008

संविधान निर्माणको कार्यतालिका परिवर्तन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा र व्यवस्थापिका-संसद्का समितिहरूको सभापति चयन गर्ने समयसीमालाई संशोधन गरिएको छ। संविधान निर्माणको ८२हप्ते कार्यतालिकामा संविधानसभाका सभापतिहरूको मनोनयन पुस १५ गतेसम्ममा गर्ने उल्लेख भएकोमा समयसीमाभित्र सभापतिहरूको चयन हुन नसकेपछि संशोधन गरिएको हो। संविधानसभाको सोमबारको बैठकले सभापतिहरूको चयन पुस २५ गते गर्ने गरी समयसीमा संशोधन गरेको हो।संविधानसभालगत्तै बसेको व्यवस्थापिका-संसद्को बैठकमा सभामुख सुवास नेम्वाङले व्यवस्थापिका-संसद्का सभापतिहरूको निर्वाचन पनि पुस २५ गते गर्ने जानकारी गराउनुभएको थियो।संविधानसभा बैठकले संविधानसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको छ। समितिमा माओवादीका खिमलाल देवकोटा, कांगे्रसका डा. मीनेन्द्र रिजाल, एमालेका अग्नि सापकोटा र नेकपा संयुक्तका कल्पना राना हुनुहुन्छ। सभासद् पोस्टबहादुर बोगटीले समिति गठनका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने सभासद्हरू लक्ष्मण घिमिरे, भीमप्रसाद आचार्य र रामजनम चौधरीले र्समर्थन गर्नुभएको थियो।संविधानसभाले नियमावली संशोधन गरी संवैधानिक समितिमा स्वतन्त्र र मुस्लिम समुदायका दुइ सदस्य थप गर्ने निर्णय पनि गरेको छ। समितिमा स्वतन्त्र सभासद् सदरुल हक र बबन सिंह छन्। यसअघि ६१ सदस्यीय रहेको सो समितिमा दुइ सदस्य थप गरी ६३ सदस्यीय बनाइएको हो।

No comments: