News

Dec 19, 2008

साइबर क्राइम सेलको गठन काठमाडौंमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना प्रविधिको बढ्दो प्रयोगसँगै मौलाएको अपराध नियन्त्रण गर्न महानगरीय प्रहरीपरिसर काठमाडौंले साइबर क्राइम सेलको गठन गरेको छ । दुईजना विशेषज्ञ रहने सो सेलले विद्युतीय कारोबार ऐन, २०६३ विपरीत हुने अपराधको नियन्त्रणमा काम गर्नेछ ।परिसरमा साइबर अपराध नियन्त्रणका लागि आवश्यक प्रविधिहरूको कमी भए पनि विभिन्न संस्थाहरू सहयोगका लागि तयार रहेको परिसरका एसपी नवराज सिलवालले बताए । सेलले औपचारिक रूपमा आइतबारबाट आफ्नो काम सुरु गर्दैछ । सिलवालका अनुसार सेललाई प्रारम्भमा काठमाडौंमा रहेका साइबर क्याफे अनुगमनको काम सुम्पिइएको छ । उनले भने, 'साइबर क्याफेभित्र क्याबिन बनाएर अश्लील सामग्री हेर्ने वातावरण मिलाउने साइबर सञ्चालकहरू अब हाम्रो निशानामा पर्नेछन् ।'प्रहरीले इन्टरनेटमा अश्लील साइट रोक्न कडा कदम चाल्ने तयारी गरेको सिलवालले बताए । सूचना प्रविधिको प्रयोग गरी हुने वेबसाइट ह्याक, इमेल प्रयोग गरी हुने धम्की, इमेल स्पामिङ, बैंक फ्रडलगायतका अपराध नियन्त्रणमा सेल सक्रिय हुने बताइएको छ ।साइटहरूको पहिचानका लागि सेलले साइटहरू फिल्टर गर्ने काम सुरु गरिसकेको छ । अश्लील साइटहरू पहिचान भएपछि सोको सूची तयार गरी इन्टरनेट सेवा प्रदायक संस्थालाई ती साइट रोक्न निर्देशन दिइनेछ । गृह मन्त्रालयको नेतृत्व परिर्वतन भएलगत्तै गृहमन्त्री वामदेव गौतमले साइबरमार्फत बढेको विकृति रोक्न प्रहरी संगठनलाई निर्देशन दिएका थिए । त्यसलगत्तै उपत्यकाका तीनवटै परिसरले साइबर सञ्चालक र इन्टरनेट प्रदायकहरूलाई बोलाएर अश्लील साइटहरू नियन्त्रण र साइबरमा बालबालिकाको सहज पहुँच नियन्त्रणका लागि निर्देशन दिएको थियो ।

No comments: