News

Dec 24, 2008

हिमाल मिडियामा आक्रमण नाइके वाईसीयल क्याम्पमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिमाल मिडियामा आक्रमण गर्ने जत्थाका नाइके माओवादीसम्बद्ध मजदुर युनियनका अध्यक्ष रमेशबाबु पन्त काठमाडौंको वाईसीयल क्याम्पमा बसेका छन् । पुस ६ गते हिमालमिडियामा आक्रमण गर्ने जत्थाका नाइके माओवादीसम्बद्ध अखिल नेपाल होटल तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष रमेशबाबु पन्त माओवादीकै अर्को भातृ सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाईसीयल)को क्याम्पमा आश्रय लिएर बसेका छन् । अनलाइन समाचार माइरिपब्लिकाडटकम ले पुस ९ गते उच्च गुप्तचर स्रोतलाई उधृत गर्दै यो जानकारी दिएको हो । माइरिपब्लीका का अनुसार हिमालमा आक्रमण भएको दिनदेखि नै उनी काठमाडौंको एउटा वाईसीयल क्याम्पमा बसिरहेका छन् । स्रोतले उनी कुन क्याम्पमा छन् भन्ने चाहिँ नखुलाएको अनलाइनले उल्लेख गरेको छ । स्रोतले नाम उल्लेख गर्न अनिच्छा व्यक्त गर्दै माइरिपब्लिका लाई भनेको छ, "पन्त काठमाडौंको एउटा वाइसीयल क्याम्पमा लुकिरहेकाले हामीलाई उनलाई गिरफ्तार गर्न अप्ठ्यारो परेको छ । यस्तो अवस्थामा हामीले उनलाई समात्न कोशिस गर्‍यौं भने त्यहाँ भिडन्त हुनेछ ।" तर समाचारमा वाइसीयल प्रमुख गणेशमान पुनले भने पन्त आफ्नो सङ्गठनको कुनै क्याम्पमा लुकिरहेका छन् भन्ने जानकारी आफूलाई नभएको बताएका छन् । "मलाई उनी कहाँ छन् भन्ने कुरा थाहा छैन", पुन भन्छन् ।माइरिपब्लिका डटकमले मन्त्रिपरिषदको ९ गते नै बसेको वैठकले गृहमन्त्रालयलाई पन्तसहित हिमालमिडियामा आक्रमण गर्ने सबैमाथि कानूनी कारवाही शुरु गर्न आदेश दिएलगत्तै उनी वाईसीयलको क्याम्पमा लुकिरहेका छन् भन्ने जानकारी पाएको पनि समाचारमा उल्लेख गरेको छ । यसैबीच पुस ९ गते बसेको मन्त्रिपरिषदको वैठकले हिमालमिडियामा भएको आक्रमणका दोषीलाई कडा कारवाही गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिएका छन् । वैठकले हिमाल मिडियामाथिको आक्रमणबारे छलफल गरेर समस्याको समाधान गर्ने जिम्मेवारी मन्त्री महरालाई दिएको छ । सञ्चारकर्मीलाई माओवादी नेता समेत रहेका महराले दोषी ठहरिएमा पन्तलाई पार्टीबाट निश्काशन गरिने प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई पनि सुनाए । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले हिमालमिडियामा भएको आक्रमणको विरोधमा भएको प्रदर्शनमा पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई विभागीय कारवाही शुरु गरेको बताए । पुस ७ गतेको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट नेपाल पत्रकार महासंघका सचिव रामजी दाहाल गम्भिर घाइते भएका थिए ।

No comments: