News

Dec 22, 2008

चिकित्सकको लापरबाहीले किशोरीको आँखाको ज्योति गुम्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा, ७ पुस चिकित्सकको लापरबाहीले झापाकी एक किशोरीको आँखाको ज्योति गुमेको छ । चारपानेस्थित मेची आँखा उपचार केन्द्रका चिकित्सकको लापरबाहीले अनारमनी- ३ की अन्जु थापाको ज्योति गुमेको हो । चिकित्सकको लापरबाहीले छोरीको आँखाको ज्योति गुमेको आमा खिनमायाले बताइन् । 'डाक्टरकै लापरबाहीले मेरी छोरीको देब्रे आँखा बिगि्रयो,' उनले नयाँ पत्रिकासँग भनिन्, 'उसले दाहिने आँखा पनि राम्रोसँग देख्दिन ।' अन्जुको देब्रे आँखा सदाका लागि बन्द भएको छ । जलविन्दुका कारण उनले आँखाको ज्योति गुमाएको चिकित्सकले बताएका छन् । दुवै आँखा चिलाएर रातो हुन थालेपछि २२ मार्च २००५ मा पहिलो पटक अन्जु सो उपचार केन्द्रमा भर्ना भएको अभिलेख छ । तर, उपचारमा संलग्न चिकित्सकले सामान्य एलर्जी भएको भन्दै आँखामा हाल्ने र खाने औषधि उनलाई दिएका थिए । चिकित्सककै सल्लाहमा उनलाई एउटा चस्मासमेत दिइएको थियो । हालसम्म पनि उनले सो चस्मा प्रयोग गरिरहेकी छिन् । 'कतै जानुपर्दैन । यहीँ निको हुन्छ भनेपछि कतै पनि गएनौँ,' स्थानीय देवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वषर्ीया अन्जुले भनिन्, '२२ वर्ष पुगेपछि आफैं ठीक हुन्छ भनेका थिए, ज्योति नै गुम्यो ।' प्रारम्भिक चरणमा अन्जुको उपचारमा संलग्न कुनै पनि चिकित्सक हाल सो उपचार केन्द्रमा छैनन् । डा. सञ्जय सिंह, डा. चन्द्र राई र सान्तनु गांगुली अन्यत्रै कार्यरत रहेको उपचार केन्द्रले जनाएको छ । पछिल्लोपटक अन्जुको उपचारमा संलग्न चिकित्सक डा. पुरुषोत्तम जोशीले आफूले कुनै लापरबाही नगरेको दाबी गरे । 'मैले कुनै लापरबाही गरेको छैन,' उनले नयाँ पत्रिकासँग भने, 'बरु दाहिने आँखाको ज्योति गुम्न नदिन मैले नै काठमाडौं जान सल्लाह दिएको थिएँ ।' निरन्तर सम्पर्कमा रहन भनिए पनि सोअनुरूप नआएकाले यस घटनाको जिम्मेवारी लिन नसकिने आँखा उपचार केन्द्रले जनाएको छ । 'प्रत्येक तीन/तीन हप्तामा आउनू भनेका थियौँ,' केन्द्रका प्रशासकीय अधिकृत सुरज रौनियारले भने, 'तर, उहाँहरू २१ महिनासम्म पनि सम्पर्कमा आउनुभएन ।' सो अवधिभित्र अन्जु उपचारका लागि आएको रेकर्ड अस्पतालमा नरहेको उनले दाबी गरे । डा. जोशीका अनुसार अन्जुका आँखामा चिलाउने र आँखाको प्रेसर गरी दुईवटा रोग देखिएका थिए । उनका आँखामा 'एमएलियो' नामक औषधि लामो समयसम्म प्रयोग गरिएकाले थप समस्या निम्तिएको केन्द्रको दाबी छ । पीडित पक्षले भने आफूहरू निरन्तर अस्पतालको सम्पर्कमा रहेको जिकिर गरेको छ । 'हामीले निरन्तर अस्पताल गएर उपचार गराएका हौँ,' अन्जुकी आमा खिनमायाले भनिन् । लगातार तीन वर्षसम्म उपचार गराउँदा पनि देब्रे आँखा झन् दुखेपछि केन्द्रका चिकित्सकले काठमाडौं लान भनेको उनले बताइन् । केन्द्रले काठमाडौं लान सल्लाह दिएलगत्तै काँकडभिट्टास्थित मेची नेत्रालयमा अन्जुको आँखा परीक्षण गरिएको थियो । नेत्रालयले देब्रे आँखा बिगि्रसकेको र दाहिने आँखा पनि जोखिममा रहेकाले तत्काल काठमाडौं लैजान सल्लाह दिएको खिनमायाले बताइन् । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा गरिएको दुई महिना लामो उपचारपछि अन्जुको दाहिने आँखामा आंशिक सुधार आएको छ । तिलगंगा अस्पतालका चिकित्सकले गलत औषधिको प्रयोगबाट अन्जुले आँखाको ज्योति गुमाएको बताएको पीडित पक्षको दाबी छ । यसैबीच अन्जुले आँखाको ज्योति गुमाएपछि परिवार र उनका सहपाठी विद्यार्थीले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेका छन् । विद्यार्थीले दैनिकजसो नारा-जुलुससहित केन्द्रमा घेराउ र धर्ना दिँदै आएका छन् । उनीहरूले आइतबार केन्द्रमा घेराउ गरी चिकित्सक र कर्मचारीलाई एक घन्टासम्म अस्पतालभित्रै थुनेका थिए । पीडित पक्षलाईर् अस्पताल प्रशासनले क्षतिपूर्ति नदिए चरणबद्ध आन्दोलन गर्ने विद्यार्थीले चेतावनी दिएका छन् । सोमबार पनि विद्यार्थीले केन्द्रको मूलद्वारमा दुई घन्टा तालाबन्दीसहित धर्ना दिए ।

No comments: