News

Dec 20, 2008

छाक टार्न नसकेपछि एक दलितले आत्महत्या गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बालिघरे पेसाबाट परिवारको छाक टार्न नसकेपछि शुक्रबार बिहान सल्यानको सल्लीबजारका एक दलितले आत्महत्या गरेका छन् । स्थानीय ५६ वर्षीय सार्के दमाईंले ११ जनाको परिवारका लागि साँझ-बिहानको छाक जुटाउन नसकेर बिहान करिब पाँच बजे आत्महत्या गरेका हुन् । घरनजिकैको रूखमा झुन्डिएर उनले आत्महत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । सम्पत्तिको नाममा एक टुक्रा जमिन पनि नभएका दमाईं परिवारले केही वर्षदेखि सल्लीबजारमा गाउँलेको लुगा सिलाउँदै आएका थिए । लुगा सिलाएबापत वाषिर्क प्राप्त हुने अन्नले उनको परिवारको गुजारा चलाउन कठिन भएको स्थानीय नन्द पुनले बताए । उनका अनुसार मृतक सार्केका श्रीमती, तीन छोरा र चार छोरीसहित ११ जनाको परिवार छ । अर्काको लुगा वर्षभरि सिलाएर त्यसबापत एकमुष्ट अन्न लिनुलाई बालिघरे पेसा भनिन्छ । बालिघरे पेसा गरेका मृतक सार्केले त्यसबापत खानपुग्ने अन्न पाएका थिएनन् । लुगा सिलाएबापत वर्षमा मुस्किलले सात मुरी धान र अन्य केही अनाज प्राप्त हुने उनको श्रीमती शोभाले बताइन् । छोराछोरी सानै भएकाले सार्केको श्रीमती शोभाले पनि अर्काको भारी बोक्ने गर्थिन् । तर, भरपेट खानका लागि कहिल्यै नपुगेको उनको छोरा नयनबहादुरले बताए । बाबुले आत्महत्या गर्नुका कारण बताउँदै उनले भने, 'बाबुले कपडा सिलाउँदा र आमाले अर्काको भारी बोक्दासमेत भरपेट खान मुस्किल परेपछि आत्महत्या गरे ।' शोभाले पनि परिवारको गुजारा चलाउन नसकेको तनावले श्रीमान्ले आत्महत्या गरेको दाबी गरिन् । पतिवियोगको पीडामा रुँदै उनले भनिन्, 'दुई दिनदेखि पेटभरी खान नपाएर घरमा किचलो भएको थियो, बिहान ट्वाइलेट जान्छु भनेर हिँडेका थिए, आत्महत्या गरेछन् ।' उनका अनुसार दैनिक चामल, तेल ल्याउने पसलले समेत तीन दिनदेखि उधारो दिन बन्द गरेका थिए । चामलका लागि भौंतारिएको बताउँदै उनले थपिन्, 'रातभर छोरा-छोरीलाई कसरी पाल्ने भन्दै चिन्ता गर्नुभएको थियो, बिहान थाहा नै नदिई झुन्डिनुभएछ ।'

No comments: