News

Dec 22, 2008

प्रशान्त तामाङ अब फिल्म हिरोको रूपमा प्रस्तुत हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्डियन आइडल प्रशान्त तामाङ अब हिरोको रूपमा प्रस्तुत हुने भएका छन्, त्यो पनि नेपाली फिल्ममा । फिल्ममा उनको गायकी संघर्षको कथा प्रस्तुत गरिँदै छ । नयाँ निर्देशक दिनेशराज शर्माको निर्देशनमा बन्ने उक्त फिल्मको सुटिङ माघको पहिलो साताबाट सुरु हुने भएको छ । तर, फिल्मको नाम जुरिसकेको छैन । गायक प्रशान्तले नै लेखेको कथामा निर्माण हुन लागेको उक्त फिल्मको निर्माता सिक्किमका नागरिक रहेका छन् । असी प्रतिशत छायांकन भारतको सिक्किम तथा दार्जिलिङका विभिन्न स्थानमा गरिने जानकारी निर्देशक शर्माले दिए । बाँकी छायांकन नेपालमा गरिने भएको छ । सामान्य भारतीय सिपाहीको जागिर खाइरहेका नेपाली मूलका प्रशान्त कसरी इन्डियन आइडल बन्न सफल भए, उनले उक्त स्थान हासिल गर्न कस्ता किसिमका संघर्ष गर्नुपर्‍यो, सिनेमामा प्रस्तुत गरिने भएको छ । प्रशान्तबाहेक राजेश हमाल, रमित ढुंगाना, झरना थापालगायतका कलाकारले पनि अभिनय गर्नेर्छन् यस फिल्ममा । प्रशान्तले अभिनय गर्ने यस फिल्ममा गायक रहेका छन्- प्रशान्त र उदीतनारायण झा । विकास चौधरीले संगीत दिएको यस फिल्मको सुटिङ पहिल्यै गर्ने योजना भए पनि प्रशान्त र सोनी टेलिभिजनसँगको सम्झौता अवधि पूरा भइनसकेकाले माघबाट सुटिङ सुरु गर्न लागिएको हो । अत्याधुनिक प्रविधिको एचडिएक्स-वान क्यामेराले छायांकन गर्ने तयारी गरिएको यस फिल्ममा बाक्लो हिऊँ पर्दै गरेको सिन कैद गर्नुपर्ने भएकाले माघ महिनामै काम थाल्ने छायांकार विमल भट्टराई बताउँछन् । आफ्नो गायकीय शिल्पी प्रस्तुत गर्न थुप्रैपटक नेपाल आइसकेका प्रशान्तले आफ्नो संघर्षको कथामा आफै हिरो भई फिल्म खेल्न पाएकोमा प्रशन्न भएको बताएका छन् ।

No comments: