News

Dec 17, 2008

बाबुले दुई महिनाकी छोरी अर्कैलाई सुम्पेर बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, २ पुस आमाबाबुका लागि आपनो सन्तान प्राणजत्तिकै प्यारो हुन्छ । तर, मुगुका एक अपरिचित बाबुले भने आफ्नी दुई महिनाकी छोरी अर्कैलाई सुम्पेर बेपत्ता भएका छन् । उत्तरगंगा गाविस- १ तातोपानी निवासी गम्भीरा शाहीको घरमा अन्दाजी ३० वर्षीय एक व्यक्ति २८ कात्तिक बिहान करिब चार बजेतिर पुगे । उनले ढोका ढक्ढक्याउँदै भने, 'यहाँ गम्भीरा शाही हुनुहुन्छ ?' आत्तिँदै अपरिचित व्यक्तिले खोजेपछि गम्भीराले आपनो परिचय दिइन् । अपरिचित व्यक्तिले एकै स्वरमा भने, 'यो छोरी दुई महिनाकी भई, उसकी आमा (श्रीमती) बिरामी थिई, उपचारका लागि मुगुबाट ल्याउँदैथेँ, बाटैमा उसको मृत्यु भयो, एकछिन यसलाई समातिदिनूस्, म मान्छे खोजेर उसको काजकिरिया गरेर आउँछु ।' तर, त्यसपछि ती व्यक्ति गम्भीराको घरमा दुई महिनासम्म आएका छैनन् । दुई महिनामै टुहुरो भएकी ती बालिका अहिले गम्भीराको संरक्षणमा छिन् । दुई महिनासम्म पनि बालिकाको बाबु नआएपछि गम्भीराले तिनको संरक्षणका लागि बालअधिकारवादी संघसंस्थासँग आग्रह गरेकी छन् । जिल्ला बालकल्याण समितिको कार्यालयमा मंगलबार भेटिएकी उनले बालिकालाई हेर्दै भनिन्, 'यसको माया त लाग्छ, तर खानपिन र स्याहारका लागि समस्या छ, के गर्ने ?' जिल्ला बालकल्याण समितिले बालिकाको संरक्षणका लागि पहल गर्ने जनाएको छ । बालसंरक्षण अधिकृत रमा भण्डारीले बालिकालाई धर्मपुत्रीका रूपमा राख्न चाहने व्यक्ति वा संघसंस्थाको खोजी गरी बालिका हस्तान्तरण गरिने बताइन् ।

No comments: