News

Dec 21, 2008

तमिल नेता बेल्लुपिल्लई प्रभाकरण चर्चाको शिखरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
करिब २५ वर्षयता श्रीलंकाका विद्रोही पृथकतावादी तमिल नेता बेल्लुपिल्लई प्रभाकरणको नाम चर्चाको शिखरमा छ । उनी लिबरेसन टाइगर्स अफ तमिल इलमका प्रमुख हुन् र जंगलमा लुकेर श्रीलंकाको सरकारसँग दुई दशकभन्दा बढी समयदेखि निरन्तर युद्धको नेतृत्व गरिरहेका छन् ।प्रभाकरण निडर र निर्दयी गुरिल्ला नेताका रूपमा चिनिएका छन् । उनको नेतृत्वमा तमिल टाइगरहरू अति नै अनुशासित, उत्प्रेरित छन् र देशको उत्तर-पूर्वी क्षेत्रमा भिन्नै गृहराज्यका लागि अथक युद्ध गरिरहेका छन्धेरैजना हताहत भइसकेपछि पनि गत तीन दशकदेखि उनको सेनाले श्रीलंकाली सेनासँग हार्ने कुनै लक्षण देखाएको छैन । अहिले भने उनीमाथि पहिलेभन्दा धेरै बढी सैनिक दबाब बढ्दै गइरहेको बताइन्छ ।

घाँटीमा साइनाइडको माला
प्रभाकरणको घाँटीमा सधैँ साइनाइडको माला झुन्डिएको हुन्छ । कुनै प्रकारले उनी सरकारी कब्जामा परेका खण्डमा त्यसलाई खाइहाल्ने अठोटले उनले साइनाइडको माला सधैँ पहिरिएका हुन्छन् । महिला वा बालबालिका नै किन नहुन्, आफ्ना कार्यकर्ताले पनि यसप्रकारको समर्पण भाव राखून् भन्ने उनको चाहना छ । किलिनोच्ची सहर वास्तवमा लिट्टेको राजधानी नै हो, अहिलेसम्म उसकै नियन्त्रणमा छ तर अब भने त्यहाँबाट लिट्टेको नियन्त्रण खुकुलो हुँदै छ । किलिनोच्ची सहरमा लिट्टेको पतन भयो भने तमिल आन्दोलन तुहिने बलियो सम्भावना छ । प्रभाकरणका साथीमध्ये केही वरिष्ठ नेता मरिसकेका छन् । तीमध्ये उनीसँग छुट्टिएका करुणाले अर्को समूह खोलेपछि प्रभाकरणको समूहमा अनुशासनको समस्या देखा पर्‍यो । उनी मारिए । तमिल टाइगरका सिद्धान्तकार मानिएका अन्तोन बालासिंघमको क्यान्सरका कारण लन्डनमा निधन भयो । प्रभाकरण द्वन्द्वको भावुकतालाई उक्साउनमा निपुण छन् भनिन्छ । यसैकारण त्यहाँ सिंहाली र तमिल समुदायबीच विभाजनको गहिरो प्रभाव देख्न सकिन्छ । आफ्ना कार्यकर्ताका लागि उनी स्वतन्त्रताका लागि लडिरहेका योद्धा हुन् र सिंहालीहरूको दमनचक्रबाट तमिल समुदायलाई मुक्त गर्न चाहन्छन् । विरोधीका नजरमा उनी मानव-जीवनलाई ख्याल नगर्ने आत्मप्रशंसक र क्रूर व्यक्ति हुन् ।
नेपोलियन र अलेक्जेन्डरका अनुयायी
उनी पत्रकारलाई मुस्किलैले अन्तर्वार्ता दिन्छन् । तर, हरेक नोभेम्बर महिनामा उनी तमिल टाइगरले मनाउने गरेको वीरदिवसका दिन एक प्रवचन दिन्छन् । उनी यस दिन बलिदान दिएका विद्रोही टाइगरहरूको स्मरण गर्छन् । भाषण भने उस्तै खालको पुरानो र असरदार हुन्छ । 'सिंहालीहरूको सम्झौताविहीन अन्धराष्ट्रवादले तमिल इलमका जनताको स्वतन्त्र राज्यबाहेक अन्य कुनै पनि विकल्प हामीलाई दिँदैन,' दुई वर्षअघिको नोभेम्बरमा उनले भनेका थिए । उनी जंगलमा लुक्दै हिँड्दा निकै गोप्य तवरले हिँड्छन् । कैयौँपटक त उनी झन्डै समातिएका वा मारिएको अवस्था पनि आएको थियो । सन् १९५४ को नोभेम्बर महिनामा श्रीलंकाको उत्तरी क्षेत्र जाफ्ना प्रायद्वीपको बेल्भेतिथुराईमा जन्मेका प्रभाकरण परिवारका चार सन्तानमध्ये सबैभन्दा कान्छा सन्तान हुन् । अध्ययनकालमा उनी औसत, संकोची स्वभावका तर किताब पढैया विद्यार्थी थिए । उनी नेपोलियन र अलेक्जेन्डरलाई आदर्श मान्छन् । सुवासचन्द्र बोस र भगतसिंहजस्ता अंग्रेजविरुद्ध सशस्त्र संघर्षको वकालत गर्ने भारतीय नेताबाट समेत प्रभावित छु भन्छन् उनी । सानै हुँदा राजनीति, शिक्षा र रोजगारीमा तमिललाई विभेद गरिएको देखेपछि क्रुद्ध भएका उनी बिस्तारै राजनीतिक सभामा सहभागी हुन थाले र मार्सल आर्ट पनि सँगसँगै सिक्न थाले । चाँडै नै उनी तमिल आन्दोलनमा राम्रैसँग सरिक भए । उनलाई सन् १९७५ मा जाफ्नाका नगरप्रमुखको हत्या गरेको अभियोग लाग्यो । यो नै तमिल राष्ट्रवादी आन्दोलनको पहिलो हत्या थियो । तमिल टाइगर्सको जग हाल्नमा उनै प्रमुख कारक थिए । सन् १९९१ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीको हत्याको आरोप पनि उनलाई लागेको थियो ।

No comments: