News

Dec 21, 2008

अरुण-३ जलविद्युत्मा माग पूरा गर्न स्थानीयको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संखुवासभा, पुस ६ - विस्तृत सर्भे सुरु भएको अरुण-३ जलविद्युत्मा आफ्नो अधिकार सुनिश्चित गर्न स्थानीयवासीले भारतीय सतलज जलविद्युत् निगमसँग छलफल सुरु गरेका छन् । अरुण र आदिवासी जनजाति अधिकार मञ्चका पदाधिकारीले अरुण-३ को विस्तृत सर्भे गर्न थालेको सतलजका प्रोजेक्ट म्यानेजर देवेन्दर वार्डेराको समूहसँग आइतबार खाँदबारीमा स्थानीयका मागलाई सम्बोधन गर्न आग्रह गरेका हुन् । म्यानेजर बार्डेराले अरुण-३ बाट उत्पादन हुने कुल बिजुली ४ सय २ मेघावाटबाट स्थानीयले सेयर वा लाभांश पाउनुपर्ने पक्षमा अफू पनि भएको बताए । उनले आयोजना सर्भे चरणमा रहेको र यो काम पूरा भएपछि स्थानीयलाई रोजगार, सडक, बिजुलीसमेतका सेवा तथा सुविधा उपलब्ध गराउने जानकारी दिए । 'स्थानीयसँग वातावरणीय अध्ययन, सार्वजनिक सुनुवाइ गरेर उचित माग पूरा गरिनेछ,' उनले भने । विस्तृत सर्भे पूरा भएपछिमात्र आयोजना निर्माण गर्ने नगर्ने टंुगो लाग्ने बताउँदै उनले भने, 'स्थानीयको सहयोगबिना आयोजना पूरा हुनै सक्दैन ।' सतलज र विद्युत् प्राधिकरणबीच अरुण-३ को कुल उत्पादनको २१ दशमलव ९ प्रतिशत -८८ मेघावाट) नेपाल सरकारले पाउने सम्झौता भएको छ । मञ्चले परियोजना निर्माणको स्रोत, सञ्चालन विधि, नीति, सकारात्मक र नकारात्मक प्रभावको जानकारी दिनुपर्ने, आईएलओ महासन्धिको १६९ धाराअनुसार आदिवासीको अधिकार पालना, आयोजना क्षेत्रमा सार्वजनिक सुनुवाई गरिनुपर्ने, आदिवासीको स्वामित्व हुनुपर्ने, सडक, बिजुली र रोजगार पाउनु पर्नेजस्ता माग अघि सारेको छ । मञ्चका अध्यक्ष होमप्रसाद याम्फूले स्थानीय जनजातिका जायज मागको सुनुवाई नभए परियोजना निर्माण असम्भव भएको बताए । उनले अरुण-३ ले प्रभाव पार्ने संखुवासभा, भोजपुर जिल्लाका २१ गाविसवासीको हितमा काम हुनैपर्ने बताए ।

No comments: