News

Dec 19, 2008

यातायात व्यवसायीले आफूखुसी भाडा निर्धारण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौं, ३ पुस सरकारी निर्णय अवज्ञा गर्दै यातायात व्यवसायीले आफूखुसी भाडा निर्धारण गरेका छन् । सरकारलाई चुनाती दिँदै व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मूल्य कटौतीभन्दा कम परिमाणमा सार्वजनिक यातायात भाडा घटाएका हुन् । सरकारले दुईपटक गरी डिजेलबाट चल्ने सवारी साधनमा १२ प्रतिशत र पेट्रोलबाट चल्ने सवारी साधनमा १० प्रतिशत भाडा घटाएको थियो । तर, यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीवार डिजेलबाट चल्ने सवारी साधनको भाडा १० प्रतिशत मात्र घटाएको छ । सरकारले एकतर्फी भाडा निर्धारण गरेकाले आफूहरूले पनि एक्लै भाडा निर्धारण गरेको महासंघका पदाधिकारीले बताएका छन् । महासंघले सरकारले भाडा घटाएको एक महिनापछि मात्र भाडा घटाउने निर्णय गरेको हो । महासंघका कोषाध्यक्ष सरोज सिटौलाले सरकारले वैज्ञानिक भाडा निर्धारण नगरेको जनाउँदै आफूखुसी भाडा निर्धारण गरेको बताए । महासंघका अनुसार, लामो तथा मध्यम दूरीमा १० प्रतिशत भाडा घटाइएको छ । त्यस्तै, काठमाडौं उपत्यकाको हकमा एक रुपैयाँ मात्र भाडा घटाउने निर्णय भएको छ । तर, सरकारी निर्णयअनुसार भाडा घट्दा काठमाडौमा झन्डै दुई रुपैयाँ भाडा घट्नेछ । तर, सरकारले भने व्यवसायीले तोकेको भाडा गैरकानुनी भएको जनाएको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव युवराज पाण्डेले सरकारले घटाएको भाडादर लागू नभए कडा कारबाही गरिने चेतावनी दिए । 'कसैले पनि आफूखुसी भाडा निर्धारण गर्न पाउँदैन,' उनले भने, 'सरकारी निर्णयविरुद्ध गए कडा कारबाही गरिेनेछ ।' सचिव पाण्डेले पेट्रोलियम पदार्थमा गरिएको कटौती आधारमा भाडा निर्धारण गरिएको जानकारी दिए । सरकारले भाडा घटाएको एक महिनापछि मात्र औपचारिक रुपमा भाडा घटाउने सर्कुलर महासघले आपना सम्बद्ध संघमा पठाएको हो । सिटौला महासंघले आफूखुसी रुपमा कायम गरेको भाडादर शुक्रबारदेखि नै लागू हुने बताउँछन् । महासंघले ट्याक्सी भाडामा पनि सामान्य कटौती गरेको छ । ट्याक्सीको सुरुको फल्याग डाउन यथावत् राखेर प्रतिकिलोमिटर ८ रुपैयाँ कायम गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्यमा आएको गिरावटसँगै पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ मूल्य कटौती गरिसकेको छ ।

No comments: