News

Dec 30, 2008

बालकमाथि प्रहरीको बर्बर यातना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, १४ पुस गाग्री चोरेको आरोपमा गाउँलेले मोसो दली चारपाटा मुडेर ल्याएका दुई बालकलाई जिल्ला प्रहरी कार्यालयका सईले बर्बर यातना दिएका छन् । १२ र १३ वर्षका ती बालकलाई गाउँलेकै सामुन्ने प्रहरी कन्ट्रोल रुममा उनले निर्घात कुटेका थिए । उत्तरगंगा-७, तापानीका १२ वषीय गोपाल मल्ल र १३ वषीय अमर विकलाई गाउँलेले सोमबार दिउँसो तीन बजेतिर चारपाटा मुडेर जिप्रकामा ल्याएका थिए । उनीहरूलाई देख्नासाथै सई मनोज कुमारले 'यिनै हुन् साले चोरहरू' भन्दै कटबाँसको लठ्ठीले भकुर्न थाले । उनले कन्ट्रोल रुममा राखिएका दुईवटा लठ्ठी समातेर लगातार प्रहार गरेका थिए । दुखाइले बालकहरूको चिच्याहट करिब सय मिटर पर सडकसम्म सुनिएको थियो । गाउँलेले 'अझै भएन हान्नुस् सर' भन्दै उक्साइरहेका थिए । कुमार पनि के कम, हुटिङ पाएको खेलाडीको शैलीमा बालकहरूमाथि बर्सिरहे । पत्रकारहरूले फोटो खिच्न थालेपछि भने उनले बालकलाई कन्ट्रोल रुमको भित्रपट्टी लगेका थिए । उनी भन्दै थिए, 'अस्ति पनि साला चोरहरू समातिएका थिए, नयाँ एसपीले कुरा नबुभदा छोडियो, अब त यिनीहरूलाई छोड्दिनँ ।' बालकसँगै जिप्रका गएका जिल्लास्थित केही बालअधिकारवादी संस्थाका प्रतिनिधिले चारपाटा मुडेर मोसो लगाई बजार घुमाउनेलाई प्रहरीले कारबाही गर्ला भन्ने आशामा थिए । तर, सई कुमारको व्यवहारले उनीहरू चकित परे । एक अधिकारवादीले भने, 'नाबालकले चोरेमा उनीहरूलाई कारबाही गर्ने उचित कानुन छ, बालकहरूमाथि यसरी भौतिक आक्रमण गर्ने प्रहरीमाथि कारबाही हुनुपर्छ ।' गोपाल मल्ल भन्छन् - मेरो बुबाको तीन महिनाअघि भारतको सिमलामा मृत्यु भयो । उहाँ काम गर्न जानुभएको थियो, हिउँमा पुरिएर मृत्यु भएछ । घरमा आमा र एक भाइ छन् । आमा गिट्टी कुट्ने काम गर्नुहुन्छ । म हरिडिल प्राविमा पाँच कक्षामा पढ्छु । मैले यसअघि कहिल्यै पनि चोर्ने काम गरेको थिइनँ । तर, अहिले स्कुलमा नास्ता खाने पैसा जुटाउनका लागि साथीसँग मिलेर गाग्री चोेरेको हुँ ।

No comments: