News

Dec 28, 2008

वाईसीएलको अर्धसैनिक संरचना विघटन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख सत्तारुढ दल माओवादीले सशस्त्र द्वन्द्वकालमा कब्जा सम्पत्ति फिर्ता र आफ्नो भातृसंगठन वाईसीएलको ´अर्धसैनिक संरचना´ विघटन गर्ने भएको छ । सत्ता साझेदर दल एमालेसित गोदावरीमा शनिबार सम्पन्न छलफलमा माओवादीले वाईसीएलले कब्जा गरेर बसेका सरकारी तथा निजी भवन तथा सम्पत्तिसमेत पनि फिर्ता गर्ने सहमति गरेको छ। सहमतिअनुसार औद्योगिक क्षेत्र र सार्वजनिक भवनमा बस्दै आएका वाईसीएलले तीन दिनभित्र ती ठाउँ खाली गर्ने प्रक्रिया थाल्नेछ । एमाले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेकाअनुसार ´कब्जा गरिएका घर जग्गा तत्काल फिर्ता गर्ने र वाईसीएल बस्दै आएका सरकारी तथा सार्वजनिक भवन खाली गर्ने सहमति भएको छ। वाईसीएल बालाजु, हेटौंडालगायतका औद्योगिक क्षेत्रमा बस्दै आएको छ । माओवादीले सम्पत्ति फिर्ता गर्नुपर्ने, वाईसीएलको अर्धसैनिक संरचना भंग गर्नेलगायतका नौ बुँदे माग राखेर प्रमुख विपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । शनिबार ६ घन्टासम्म चलेको बैठक दुई दलबीचको सम्बन्ध सुधार्ने कुरामै बढी बितेको जानकारी नेताले दिएका छन्। सत्तारुढ दलबीचको एकतालाई दह्रो बनाई विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिलाई पनि छिट्टै पूर्णता दिइने दुई दलबीच सहमति भएको छ । एमाले संविधानसभा दलको कार्यालयमा बिहीबार बसेको दुई दलको बैठकले माओवादी–एमालेबीचको सम्बन्धलाई सुधार्न माओवादीका तर्फबाट कानुनमन्त्री देव गुरुङ र एमालेका तर्फबाट भीम रावललाई जिम्मेवारी दिएको थियो । गुरुङ र रावलले दुई दलबीच यसअघि भएका सम्झौतालाई पुनरावलोकन गरी शनिबार बस्ने बैठकमा पेश गर्ने भनिएको थियो। गुरुङ र रावलले तयार पारेको एजेन्डामा रहेर शनिबारको छलफल अघि बढेको माओवादी प्रवक्ता दिनानाथ शर्माले बताए। उनले आफ्नो दलको प्रत्यक्ष निर्देशनमा कब्जामा नभएको, तर त्यस्तो भए छोड्ने बताए। उनले एमाले स्थायी समितिका सदस्य अमृतकुमार बोहराका दाजुको सम्पत्ति पनि कब्जा रहेको र त्यसको राजनीतिक समाधान खोज्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले महासचिव झलनाथ खनाललाई जिम्मा दिइएको प्रवक्ता शर्माले बताए । प्रवक्ता शर्माले स्थानीय निकायमा नियुक्ति तथा संवैधानिक र राजनीतिक नियुक्तिका बारेमा पनि छलफल चले पनि नटुंगिएकाले आइतबार पुनः दुई दलबीच बैठक हुने बताए । उनले आइतबार बस्ने बैठकमा नै सेना समायोजन विशेष समितिलाई पूर्णता दिइने र कांग्रेससित सहमति गरी सदन सुचारु पनि गरिने बताए। दुई दलबीचको छलफल अझै नटुंगिएकाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आठ बजे पुनः बैठक बस्ने शर्माले बताए। दुई दलको बैठकपछि १० बजे कांग्रेससहित तीन दलको बैठक बस्ने भएको छ। गोदावरी रिसोर्टमा सम्पन्न दुई दलको बैठकमा दुवै दलका शीर्ष नेता सहभागी थिए। बैठकमा माओवादीका तर्फबाट माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालसहित बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, देव गुरुङ र दिनानाथ शर्मा तथा एमालेका तर्फबाट महासचिव झलानाथ खनालसहित पूर्व महासचिव माधवकुमार नेपाल, वामदेव गौतम, विष्णु पौडेल, अमृतकुमार बोहरा, सुरेन्द्र पाण्डे, भीम रावल र विद्या भण्डारी सहभागी थिए ।

No comments: