News

Dec 28, 2008

सरकार र पत्रकारबीच दस बुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी सम्वद्ध मजदूरहरुले एक साता अगाडि हिमालमिडियामाथि आक्रमण गरेपछि आन्दोलित पत्रकारहरु र सरकारबीचको वार्ता सहमतिमा पुगेको छ। दस बुँदे सहमतिमा पुगेपछि नेपाल पत्रकार महासंघले आफ्ना आन्दोलनका कार्यक्रमहरु स्थगन गरेको महासंघका महासचिव पोषण केसीले बीबीसीलाई वताएका छन्। "सोमबारदेखि कान्तिपुर पब्लिकेशन्सको पूर्वाञ्चल संस्करण सुचारु गरिने शर्तका साथ हामी सहमतिमा पुगेका हौं," केसीले भने। यसअघि सरकारले संसदमार्फत प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने र पत्रकारको सुरक्षा गर्ने आश्वासन दिएपछि महासंघले आफुहरु सहमति नजिक पुगेको वताएको थियो। आइतबार बिहान पहिलो चरणमा बसेको दुई पक्षबीचको बैठक साँझ अबेर दोस्रो पटक बसेको थियो। सूचना तथा सञ्चारमन्त्री तथा नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले पत्रकारहरुलाई बैठकमा त्यस्ता आश्वासनहरु दिएका थिए। पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी गर्ने लगायतका विश्वासहरु सरकारले दिलाएको वताउँदै महासंघका अध्यक्ष धर्मेन्द्र झाले भने, "प्रधानमन्त्रीले संसद समक्ष आएर पत्रकारहरुको र उनीहरुले काम गर्ने स्थलको सुरक्षा ग्यारेण्टी गर्ने प्रतिबद्धता जनाउने विषयमा सहमति भएको छ। त्यस्तै सञ्चार मन्त्रालयले छुट्टै एकाई मार्फत प्रेस स्वतन्त्रताको अनुगमन र कार्यान्वयन गर्ने विषयमा पनि सहमति भएको छ।" उनले सरकारका आश्वासनहरुलाई कार्यान्वयनको कसीमा जाँचिने वताएका छन्। माओवादी सम्बद्ध छापाखाना मजदूरहरुको धर्नाका कारण गएको चारदिन देखि अवरुद्ध बनेको कान्तिपुर पब्लिकेशन्सको पूर्वाञ्चल संस्करण सोमबारदेखि सुचारु गराउन समेत महासंघले सरकारसंग माग गरेको थियो। तर त्यस विषयमा भने सहमतिमा पुग्न निकै समय लागेको थियो। आइतबारनैं हिमालमिडिया आक्रमणमा संलग्न भनिएका दुईजना माओवादी सम्वद्ध मजदूर नेताहरुलाई थप दस दिन हिरासतमा राखी छानवीन गर्न ललितपुर जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ। ती दुई मजदूर नेताले दुई दिन अगाडि स्वेच्छिक गिरफ्तारी दिएका थिए।
हिमालमिडियामाथि आक्रमण एवं कान्तिपुर पब्लिकेशन्सको पूर्वाञ्चल प्रकाशनमा जारी अवरोधहरु विरुद्ध पत्रकारहरुले गएको एक सातामा -याली, धर्ना, सम्पादकीय खाली राख्ने, कालो पट्टी लगाउने जस्ता विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएका थिए।

No comments: