News

Dec 22, 2008

सार्क मुलुकहरूमध्ये महँगो मट्टीतेल नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वसाधारणका लागि महत्त्वपूर्ण उपभोग्य पदार्थ ठहरिएको मट्टीतेलको मूल्य सार्क मुलुकहरूमध्ये नेपालमा सबैभन्दा महँगो रहेको छ ।डिजेलमा भएको मिसावट नियन्त्रण गर्न नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समान गरेपछि मट्टीतेल महँगो भएको हो ।डिजेल र मट्टीतेलको मूल्य समान भएपछि मट्टीतेलको खपतमा ६५ प्रतिशत कमी आएको छ । निगम स्रोतका अनुसार मूल्य समान भएपछि डिजेलको माग भने ३५ प्रतिशत बढेको छ । पेट्रोलपम्पले डिजेलमा मट्टीतेल मिसावट नगरेका कारण र उद्योगले मट्टीतेलको साटो डिजेल प्रयोग गर्न थालेपछि मट्टीतेलको माग घटेको बताइएको छ ।नेपालमा अहिले मट्टीतेलको उपभोक्ता मूल्य ६० रुपैयाँ ५० पैसा रहेको छ । जब कि छिमेकी मुलुक भारतमा ५५ रुपैयाँ २७ पैसा रहेको छ । नेपालले लामो समयदेखि भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । भारतमा नेपालमा भन्दा पेट्रोलियम पदार्थको खुद्रा मूल्यसमेत सस्तो रहेको छ । द्वन्द्वबाट गुजि्ररहेको श्रीलंकाभन्दा पनि नेपालमा मट्टीतेलको मूल्य ४ रुपैयाँले महँगो रहेको छ । भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर पाँच र डिजेल तथा मट्टीतेल पाँच रुपैयाँ महँगो छ । भारतमा पेट्रोल प्रतिलिटर ८० रुपैयाँ ९६ पैसा, डिजेल ५५ रुपैयाँ ७७ पैसा छ भने नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ र ६५ रुपैयाँ छ । १५ डिसेम्बरको भारतीय मूल्यअनुसार पेट्रोलमा निगमलाई २९ रुपैयाँभन्दा बढी नाफा रहेको स्रोतले बतायो । त्यस्तै, डिजेलमा नौ रुपैयाँभन्दा बढी नाफा रहेको छ । निगमको नाफा व्यावसायिक क्षेत्रले लिएकोभन्दा पनि बढी छ । निगमले प्रत्येक ३ तारेखमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नीति लिएको छ । पेट्रोलियम व्यवसायीले समेत मूल्य कटौती कम भएको जनाएका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डे निगमले अन्तर्राष्ट्रिय बजारअनुसार न्यून मूल्य समायोजन मात्र गरेको बताउँछन् । 'पेट्रोलियम पदार्थको मूल्य अझै घटाइनुपर्छ,' उनले भने । तर, पाण्डे पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा कम कायम गर्न नहुने बताउँछन् । 'पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा कम गर्नुहुँदैन,' उनले भने, 'भारतमा भन्दा कम भए पेट्रोलियम पदार्थ अपचलन भएर मुलुकले घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ ।' लोडसेडिङ बढ्दै गएपछि नेपाल आयल निगमलाई डिजेल आपूर्तिमा हम्मेहम्मे परेको छ । अहिले दैनिक १८ लाख लिटर डिजेलको माग रहेको छ । मागअनुरूप आपूर्ति गर्न निगमले सोमबारदेखि बरौनीबाट डिजेल ल्याउन थालेको छ । निगम स्रोतका अनुसार, भारतीय नम्बर प्लेटका ट्यांकरले सिधै डिजेल आपूर्ति गर्न थालेका छन् । मट्टीतेल र डिजेल मूल्य समान भएकाले समेत डिजेल माग बढेको हो । अहिले डिजेलको मासिक माग ४२ हजार किलोलिटर रहेको छ । गत महिना डिजेलको माग २७ हजार किलोलिटर मात्र थियो ।निगमका अनुसार, अहिले मट्टीतेलको माग घटेको छ । हाल मट्टीतेलको माग मासिक पाँच हजार किलोलिटर मात्र रहेको छ । डिजेलभन्दा मट्टीतेलको मूल्य कम हुँदा मट्टीतेल खपत १० हजार किलोलिटर हुने गर्दथ्यो ।

No comments: