News

Dec 21, 2008

विदेश पुगेकी एक युवतीले मानसिक सन्तुलन गुमाइन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सानीआमामार्फत धन कमाउन विदेश पुगेकी एक युवती मानसिक सन्तुलन गुमाएर स्वदेश फर्केकी छन् ।सिन्धुपाल्चोकको सेलाङ-७ की १७ वर्षीया गीता मगर कुवेतबाट मानसिक सन्तुलन गुमाएर नेपाल फर्केकी हुन् । गीता गत साउनमा कुवेत प्रवेश गरेकी थिइन् । कुवेत पुगेको चार महिनापछि उनी १ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । कतार एयरवेजबाट राति आएकी उनलाई विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले अर्धचेत अवस्थामा फेलापारेका थिए ।अर्धचेत अवस्थामै माइती नेपालको संरक्षणमा पुगेकी गीताको होस खुलेपछि मानसिक सन्तुलन गुमेको पत्ता लागेको उनको परिवारजनले बताएका छन् । बेठेगानको गफ गर्ने उनी माइती नेपालकै संरक्षणमा छिन् । धन कमाउन गएकी गीता यस्तो अवस्थामा भेटिएपछि परिवारजन चिन्तित बनेका छन् । गीताकी ४० वषर्ीया आमा मानकुमारी पनि वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा पुगेकी छिन् । परिवारका अनुसार गीता कुवेत र मानकुमारी साउदी अरब जान भनेर २४ असारमा चौताराबाट राजधानी लागेका थिए । मगर परिवारको सदरमुकाम चौतारामा होटल व्यवसाय छ । साउनमा आमाछोरी छुट्टाछुट्टै मुलुक प्रस्थान गरेका थिए । 'कुवेत पुगेपछि म आइपुगेँ भनेर घरमा फोन गरेकी थिई,' चिन्तित हुँदै गीताकी दिदी नानु मगरले भनिन्, 'अर्कोपल्ट सम्पर्क नहुँदै यस्तो हालतमा देख्नुपर्‍यो ।' उनले आमा मानकुमारी भने सम्पर्कमा आइरहेको बताइन् । 'बेठेगानका कुरा गरिरहेकाले गीता कसरी सन्तुलन गुमाएर फर्किन् भन्ने बुझ्न सकिएन,' उनले भनिन्, 'कसैले कुरा गरे त्यो पैसा ऊ त्यही झोलामा छ मात्र भन्छे ।' नानुका अनुसार आमाछोरी दुवैलाई कान्छी मगर नाम गरेकी आफ्नै सानीआमाले विदेश पुर्‍याएकी हुन् । सानीआमा 'कान्छी' पनि विदेश जान भनेर हिँडेको र सम्पर्कमा नआएको उनले बताइन् । उनले बहिनी गीतालाई कुवेत पठाउन दस हजार भारु खर्च भएको जानकारी दिइन् ।भर्खर १७ वर्ष मात्र पुगेकी गीताको विदेश पठाउन उमेर बढाएर २० वर्ष उल्लेख गरी राहदानी लिइएको परिवारले जनाएको छ । कुवेत नेपाली महिला कामदारका लागि प्रतिबन्धित देश हो । छोरी अर्धचेत अवस्थामा फेलापरेको खबर पाएपछि गीताका बाबु तामबहादुर शुक्रबार माइती नेपाल, काठमाडौं पुगेका छन् ।

No comments: