News

Dec 22, 2008

वाइसिएल शिविर हटाउन सरकारले पत्र काटेको जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले सत्तारुढ नेकपा माओवादीको भ्रातृ संस्था योङ कम्युनिस्ट लिग वाइसिएललाई देशका विभिन्न औद्योगिक क्षेत्रमा राखिएका आफ्ना शिविर ३५ दिनभित्र छाड्न सरकारले पत्र काटिसकेको बताउनुभएको छ ।रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले वाइसिएलले औद्योगिक क्षेत्रमा बसेर औद्योगिक वातावरण बिगारेको र औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायीबाट चन्दा उठाउने, धम्की दिनेजस्ता कार्य भइरहेको दाबी गर्नुभयो । मन्त्री शाक्यले प्रधानमन्त्रीले समेत औद्योगिक वातावरण तयार गर्छु भन्नु भएकाले उनीहरू हट्ने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले भन्नुभयो-बालाजु, धरानलगायत मुलुकका सबैजसो औद्योगिक क्षेत्रमा वाइसिएलले आफ्ना शिविर खडा गरेर लामो समयदेखि बस्दै आएका छन्, वाइसिएलसमेत जिम्मेवार र अनुशासित बन्नुपर्दछ । वाइसिएललाई औद्योगिक क्षेत्र छाड्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले तीन दिनअघि पत्र पठाएको जानकारी दिँदै मन्त्री शाक्यले उद्योग क्षेत्रको समस्या नै वाइसिएल भएको र उनीहरूकै गतिविधिका कारण सम्पूर्ण उद्योग क्षेत्र आतङ्कित, भयभित र त्रासमा रहन बाध्य भएको पनि उल्लेख गर्नुभयो ।

No comments: