News

Dec 21, 2008

माओवादी कार्यकर्ताले हिमाल खबरपत्रिकामा आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी कार्यकर्ताको एक समूहले आइतबार हिमाल खबरपत्रिकाको कार्यालयमा आक्रमण गरेको हिमाल मिडियाले जनाएको छ । हात्तीवनस्थित कार्यालयको समाचार कक्ष र छापाखानामा मध्याह्न १२ बजे प्रवेश गरी सो समूहले पत्रकार तथा कर्मचारीमाथि आक्रमण गरेको मिडियाले जनाएको छ ।आक्रमणमा मिडियाका प्रकाशक तथा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितसहित कार्यकारी निर्देशक आशुतोष तिवारी, आर्थिक अधिकृत बिन्दिरा शाक्य र पत्रकार डम्बर श्रेष्ठ घाइते भएका छन् । हिमाल मिडियामा भएको आक्रमणको विभिन्न सञ्चार संस्था र मानवअधिकारवादी संघसंगठनले विरोध गरेका छन् ।यसैबीच, हिमाल खबर पत्रिकामा कार्यरत सञ्चारकर्मीमाथि माओवादी मजदुर संगठनका कार्यकर्ताले गरेको आक्रमणको संविधानसभा सदस्यहरूले निन्दा गरेका छन् । व्यवस्थापिका संसद्को हैसियतमा आइतबार बसेको संविधानसभा बैठकमा सभासद्हरूले सञ्चार क्षेत्रमाथि माओवादी कार्यकर्ताबाट गरिएको आक्रमणले लोकतन्त्रको निष्ठामाथि समेत प्रहार गरेको बताए । 'सञ्चार क्षेत्रमाथि नियोजित रूपमा आक्रमण भइरहेको छ । यसले लोकतन्त्रको निष्ठामाथि समेत प्रहार गरेको छ,' बैठकमा एमाले सभासद् प्रदीप ज्ञवालीले भने । माओवादीसम्बद्ध मजदुर संगठनका नेताहरू रमेशबाबु पन्त र रमेश केसीको नेतृत्वमा गएका माओवादी कार्यकर्ताले हिमाल खबर पत्रिकामा कार्यरत १५ सञ्चारकर्मीमाथि आक्रमण गरी घाइते बनाएको सभासद् ज्ञवालीले बताए । उनले यस सम्बन्धमा माओवादीको आधिकारिक धारणा आउनुपर्ने बताए । हिमाल खबर पत्रिकाको व्यवस्थापन समितिको बैठक बसिरहेको अवस्थामा आइतबार बिहान माओवादी मजदुर संगठनका कार्यकर्ताले त्यहाँ कार्यरत सञ्चारकर्मीमाथि आक्रमण गरेका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठीले हिमाल खबर पत्रिकामाथि भएको आक्रमणको सरकारले छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने बताए । उनले माओवादी कार्यकर्ताले अन्य ठाउँमा समेत सञ्चारकर्मीमाथि आक्रमण गरिरहेको आरोप लगाए । सद्भावना पार्टीका सभासद् लक्ष्मणलाल कर्णले स्वतन्त्र प्रेसमाथि निरन्तर रूपमा भइरहेको आक्रमणले मुलुकलाई नै संकटमा पार्ने काम गरिरहेको बताए । उनले यस सम्बन्धमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने बताए । मधेसी जनअधिकार फोरमका सभासद् हरिनारायण यादवले माओवादीले नियोजित रूपमा निरन्तर प्रेसमाथि आक्रमण गरिरहेको बताए । उनले दोषीमाथि कारबाहीको माग गरे । राष्ट्रिय जनशक्ति पार्टीका सभासद् डा. प्रकाशचन्द्र लोहनीले हिमाल खबर पत्रिकामाथि गरिएको आक्रमण लोकतन्त्रमाथिको हमला भएको बताए । 'यो स्वतन्त्र चिन्तन गर्नेहरूमाथिको आक्रमण हो । लोकतन्त्रमाथि हमला गरेर अधिनायकवाद लाद्न खोजिएको छ,' उनले भने ।माओवादी सभासद् सालिकराम जमरकट्टेलले भने हिमाल खबर पत्रिकाको व्यवस्थापनले वार्ता गर्न बोलाएका आफ्ना मजदुरहरूमाथि उल्टै गुन्डाहरू बोलाएर आक्रमण गरेको दाबी गरे । 'वार्ता गर्न बोलाएर मजदुरहरू त्यहाँ गएका थिए । तर, एक्कासि गुन्डाहरू लगाएर मजदुरहरूमाथि आक्रमण गरियो,' उनको दाबी छ । 'हिमाल मिडियाले वर्षौंदेखि काम गरिरहेका स्थायी कर्मचारीहरू विनाकारण निकाल्दा चुप लाग्ने दलहरूले मजदुरहरूको पक्षमा कुरा उठ्दा माओवादीले आक्रमण गर्‍यो भनेर आरोप लगाउनु कहाँको जायज कुरा हो,' उनले भने । निकालिएका मजदुरलाई पुनर्बहाली गर्नुपर्ने निर्णय सूचना विभागले गर्दासमेत पुनर्बहाली नगरिएकोले मजदुरहरू आन्दोलित भएको उनले बताए ।

No comments: