News

Dec 19, 2008

नेपालका बाँदर पनि अमेरिका जाने भए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका बाँदरलाई अब अमेरिकातर्फ़ निर्यात गर्ने चांजोपांजो मिलाईदै गरिएको बेला यसो गर्नु उपयुक्त होला या नहोला भन्ने विषयमा शुक्रबार रिपोर्टर्स क्लबमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा बोल्दै बाँदर विशेषज्ञ मुकेश चालिसेले मानवलाई चाहिने औषधि बनाउन बाँदर उपयुक्त प्राणी भएको अवस्थामा यसको निर्यात उपयुक्त रहने विचार व्यक्त गर्नुभयो । पशुअधिकारवादी संस्था एवं पशु अधिकारकर्मी मनोज गौतमले यसरी बाँदर निर्यात हुनु व्यापार मात्र रहेको बताउँदै अनुसन्धानका नाममा बाँदर निर्यात हुन नहुने विचार व्यक्त गर्नुभयो ।अन्तरक्रियामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकारी झमकबहादुर कार्कीले भन्नुभयो- अमेरिकामा बाँदर निर्यातका लागि विभागमा निवदेन परेको छ । बाँदरहरू पाटनको लेलेमा प्रयोगशालामा छन् ।बाँदर विशेषज्ञ मुकेश चालिसेको विचारमा विभिन्न रोगका औषधि यिनै जनावरमा परीक्षण गरिन्छ । "मानिसले औषधि परीक्षण गर भनेर पाखुरा तेर्स्याउन सक्दैन, यस्तो अवस्थामा बाँदर निर्यात अनुपयुक्त होइन", उहाँको भनाइ छ ।सोसाइटी फर प्रि-भेन्सन अफ क्रुयल्टी टू एनिमल नेपालकी पशु अधिकारकर्मी मनिता नेपालले मानिसले आफू मात्र बाँच्ने भन्ने होइन, अरू प्राणी पनि बाँच्न पाउनुपर्छ भन्ने चिन्तन विश्वभर उठिरहेको बेला यस्तो निर्यात रोक्नुपर्छ भनी प्रतिवाद गर्नुभयो ।वन्यजन्तु संरक्षण अधिकृत शिवराज भट्टले वन्यजन्तु संरक्षणसम्बन्धी कानुन अपूर्ण रहेको बताउँदै कानुनमा वन्यजन्तु पाल्ने भन्ने छ तर बाहिर निर्यात गर्न पाउने या नपाउने भन्ने नभएको बताउनुभयो । अधिवक्ता विजय सिंहले भन्नुभयो- कानुनले एकातिर सिकार खेल्ने अनुमति पनि दिएको छ, अर्कोतिर दुःख वा पीडा दिएर वन्यजन्तु मार्नहुन्न भन्ने पनि छ तर कानुनले वन्यजन्तु निर्यात गर्न हुन्छ भन्ने अनुमति दिएको छैन । धादिङ, हेटौँडा र उपत्यकाका बाँदर प्रयोगशालामा छन् । अमेरिकी प्रयोगशालामा पुर्‍याइने गरी लेलेमा प्रवेशमान श्रेष्ठले बाँदर उत्पादन केन्द्र सञ्चालन गरिरहेको पशुअधिकारकर्मी मनोज गौतमले जानकारी दिनुभयो ।एनिमल वेलफेयर नेटवर्क नेपालले वायोमेडिकल अनुसन्धानका नाममा बाँदरले निर्मम यातना भोग्न परिरहेकाले बाँदर निर्यात रोक्नुपर्छ भन्ने विज्ञप्ति जारी गरको छ ।बाँदर निर्यात रोक्नुपर्छ र बाँदर मानिसका रोगको निदानका लाग अनुसन्धानको उपयुक्त माध्यम हुन्छ भने बाँदर निर्यात हुनुपर्छ भन्ने विषयमा क्लबमा चलेको यो विवाद वा अन्तरक्रियाले अब बाँदर मानिसको कमाइखाने भाँडोका रूपमा पनि परिणत भइसकेको छनक दिएको छ ।

No comments: