News

Dec 18, 2008

वरिष्ठ साहित्यकार रमेश विकल रहनुभएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वरिष्ठ साहित्यकार रमेश विकलको बुधबार दिउँसो साढे तीनबजे राजधानीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा निधन भयो । उहाँ केही दिनअघिदेखि सो कलेजमा निमोनिया रोगका कारण उपचाररत हुनुहुन्थ्यो । वि.सं. १९८५ कात्तिक २९ भाइटीकाका दिन जन्मनुभएका विकल आख्यानकारका रूपमा चर्चित छन् ।उनका उपन्यासतर्फ अविरल बग्दछ इन्द्रावती, सुनौली र सागर उर्लंन्छ सगरमाथा छुन, कथासङ्ग्रहतर्फ नयाँ सडकको गीत, विरानो देशमा, उर्मिला भाउजू, आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा र 'शव, सालिक र सहस्र बुद्ध', नाटकतर्फ सप्तरङ्गी, भक्ति थापा र मिल्किएको मणि, नियात्रातर्फ सात सूर्य एक फन्को र नीलगिरिको छायामा तथा आत्मजीवनीतर्फ मेरो अविरल जीवनगीत -भाग-१) प्रकाशित छन् ।यस्तै नेपाली बालसाहित्यमा क्षेत्रमा पनि विकलमा विक्रम र नौलो ग्रह - उपन्यास, सात थुङ्गा र अब तिमी नरोऊ किरण - बालनाटकसङ्ग्रह, तेह्र रमाइला कथा, हिउँदे छुट्टी, रमेश विकलका उत्कृष्ट बालकथाहरू, मूर्खहरूको कथा - बालकथासङ्ग्रह तथा गौँथलीको घर, भैँसी र मुरी चामलको भात चित्रकथालगायतका थुपै्र कृति प्रकाशित छन् । साहित्यकार विकल मदन पुरस्कार र महेन्द्र प्रज्ञा पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष विकल नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्थ्यो । उहाँले नेपाल बालसाहित्य समाजको अध्यक्षका रूपमा पनि काम गर्नुभएको थियो । उहाँका दुइ छोरा र चार छोरी छन् ।

No comments: