News

Dec 18, 2008

माओवादी र एकताकेन्द्रबीच पुसभित्र एकता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादी र नेकपा एकताकेन्द्र (मसाल) बीच चलिरहेको एकताप्रक्रियाले यही पुस महिनाभित्र पूर्णता पाउने भएको छ । ती दलबीचको एकता प्रक्रियामा बाँकी रहेका प्राविधिक विषयमा छलफल गर्न दुवै दलका शीर्ष नेताहरूको आज बसेको बैठकमा सो विषयमा सहमति भएको हो । सहमतिअनुसार यही पुस महिनाभित्र नेकपा-एकताकेन्द्र (मसाल) को राष्ट्रिय सम्मेलन गरी पार्टी एकता र सोका लागि आवश्यक अन्य एजेण्डा पारित गरिने र त्यसपछि एकताको पहल सुरु हुने छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सहभागितामा भएको दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकमा एकताकेन्द्रको यही पुस महिनाभित्र हुने राष्ट्रिय सम्मेलनपछि एकताप्रक्रियालाई मूर्तरूप दिइने सहमति भएको नेकपा-एकताकेन्द्र (मसाल) का महासचिव नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिनुभयो । महासचिव प्रकाशले आजको बैठकमा दुई दलबीच एकता भएपछि पार्टीको नाम के राख्ने भन्ने विषयका साथै पार्टी एकीकरणसम्बन्धी विभिन्न विषयमा छलफल भएको पनि बताउनुभयो । आजको बैठकमा दुवै दलका शीर्ष नेताहरूको सहभागिता थियो । नेकपा (माओवादी) र नेकपा-एकताकेन्द्र (मसाल) बीच एकताका लागि लामो समयदेखि विभिन्न तहमा छलफल भइरहेको छ ।

No comments: