News

Dec 21, 2008

किशोरीद्वारा जरिवाना तिरेर सम्बन्धविच्छेद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जबर्जस्ती बालबिहे गराइएकी एक बालिकाको एक महिना नपुग्दै सम्बन्धविच्छेद भएको छ । चौध वर्षको उमेरमा बिहे गरेकी सुर्खेत लेखपराजुलकी बालिकाले सम्बन्धविच्छेद गरेबापत जरिवानासमेत तिरेकी छिन् ।लेखपराजुल गाविस-८, डुंगीखोलाकी सपना बुढाको सोही ठाउँका प्रेम श्रेष्ठसँग २५ वैशाखमा जबर्जस्ती बिहे भएको थियो । बिहे भएको एक महिनामै सपनाले सम्बन्धविच्छेद गरिन् । श्रीमान्बाट मुक्ति पाउन 'पहिला सम्बन्धविच्छेद गर्छु भनेबापत' उनले एक हजार ६ सय रुपैयाँ जरिवानासमेत तिरेकी छिन् । स्थानीय सरस्वती माविमा कक्षा ५ मा पढ्दै गरेकी सपनालाई 'नाइँ भन्दाभन्दै लतारेर' श्रेष्ठको घर भित्र्याइएको थियो । 'उनीहरूले बाबुआमालाई टन्न रक्सी खुवाएर सुताए, त्यसपछि मलाई हातखुट्टा समातेर लतार्दै आफ्नो घर लगे,' सपनाले जबर्जस्ती बिहे भएको कहानी सुनाइन्, 'घर पुर्‍याएपछि उनीहरूले अब तिम्रो बिहे भइसक्यो, यहीँ बस्नुपर्छ भने ।' सो दिन प्रेमका साथै उनका दाइ कमल र नातेदार खुमबहादुर तथा गोविन्द श्रेष्ठले जबर्जस्ती गरेर लगेको उनले बताइन् ।सपनाले कलिलो उमेरमा जबर्जस्ती गराइएको बिहे सहे पनि श्रीमान्को उत्पीडन भने सहन सकिनन् । श्रीमान्ले दिनहुँ अनेक बहानामा कुटपिट गर्न थालेपछि उनले १६ जेठमा श्रीमान्सँगको सम्बन्ध तोडिन् । 'घरबाट अलिकति टाढा गए शंका गरेर कुट्थे, कसैसँग बोल्न पनि दिँदैनथे, अनि कसरी बस्न सकिन्छ ?,' सपनाले पीडा सुनाउँदै भनिन्, 'ऊसँग बस्नुभन्दा त एक्लै बस्नु उचित ठानेर छुट्टिएँ ।'श्रीमान्सँग सम्बन्धविच्छेद गरेबापत सपनाले न त अंश पाइन् न त अरू केही । उल्टै एक हजार ६ सय नगद र एउटा बाख्रो दिनुपर्‍यो । किन ? उनले भनिन्, 'पहिला मैले श्रीमान्लाई छोड्छु भनेँ, त्यसैले रे !' परिवार तथा आफन्तले जरिवाना तिराएको उनले बताइन् । श्रीमान्ले नै आफूलाई छोड्न चाहे पनि पैसा तिर्नुपर्ने डरले अनेक किसिमको पीडा दिएर लखेट्न खोजेको उनको बुझाइ छ । श्रीमान्सँग सम्बन्ध टुटे पनि उनले पढाइलाई निरन्तरता दिने सपना बुनेकी थिइन् । तर, माइतीको असहयोगका कारण उनको सपना पूरा हुन पाएन । 'बाबुआमाले तँ अलक्षिनी जाँ गए पनि राम्रो हुँदैन जता जान्छेस् जा भनेर बस्न दिएनन्,' उनले दुवै पक्षबाट पीडित बन्नुपरेको बताइन् । भनिन्, 'त्यसपछि मैले आफ्नो भन्ने सबै गुमाएँ ।'आठ दिनअघि स्थानीय चन्द्रसूर्य बालसञ्जालकी अध्यक्ष बालकुमारी विकसँग वीरेन्द्रनगर आएकी उनी अहिले स्थानीय एक घरमा घरेलु कामदारको रूपमा बसेकी छिन् । 'मालिकले खाइपिई मासिक एक हजार रुपैयाँ दिन्छु भनेका छन्, भोकै मर्नुभन्दा त यही नै ठीक छ,' उनले भनिन् । वीरेन्द्रनगर आएपछि कानुनले न्याय दिने थाहा पाएको बताउँदै उनले पीडकलाई कानुनी कारबाही थाल्ने बताइन् ।

No comments: