News

Dec 26, 2008

सेना समितिको नेतृत्व गर्ने प्रधानमन्त्रीको प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री संयोजक रहेको सेना समायोजन विशेष समितिको नेतृत्व आफूले गर्ने प्रस्ताव राखेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको तीन दलबीचको बैठकमा उनले त्यस्तो प्रस्ताव राखेका हुन्। बैठकमा उनले समितिमा सबै प्रमुख दलका सदस्य बराबर हुनुपर्ने नेपाली कांग्रेसको मागमा सहमति जनाए थिए। छलफलमा सरिक नेकपा एमालेका महासचिव झलनाथ खनालले भने, "प्रधानमन्त्रीले समितिमा नेपाली कांग्रेसको माग अनुसार सबै दलका दुई दुई जना राख्छु भन्नु भयो।" नेकपा माओवादीसंग तिक्ततापूर्ण सम्बन्ध रहेको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको तर्फबाट छलफलमा सहभागि डा.रामशरण महतले त्यसलाई सकारात्मक कदमको संज्ञा दिएका छन्। उनले भने, "त्यो सकारात्मक दिशातर्फको एक कदम हो।"समितिको नेतृत्व गर्ने प्रधानमन्त्रीको नयाँ प्रस्तावपछि समिति तत्काल सक्रिय हुने सम्भावना टरेको छ। यस अघि माओवादी वाहेकका दलले समितिको नेतृत्व गर्नु पर्ने कांग्रेस र एमालेको अडानका कारण सरकारमा एमालेको नेतृत्व गरेका उपप्रधानमन्त्री बामदेव गौतम समितिको संयोजक बनाइएका थिए। अहिले भने दुवै दल त्यसलाई त्यति ठूलो विवादको विषय नबनाउने मनस्थितिमा रहेको बुझिन्छ। त्यस्तै संकेत दिँदै एमाले महासचिव खनालले भने, "प्रधानमन्त्रीले समितिमा बस्ने भए बेग्लै ढंगले सोच्नु पर्ने स्थिति आउनसक्छ। तर अन्तिम बोली, अन्तिम वाक्य बोल्नु पर्ने सरकार प्रमुख त्यस्तो समितिमा बस्न उपयुक्त हो कि होइन भन्ने प्रश्न छ।"

No comments: