News

Dec 26, 2008

कम खर्चमा भारतीय रेल नेपाली सदरमुकाम आउँछन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतसँग सीमा जोडिएका जिल्लाको २२ गाविसका वासिन्दा दस वर्षर्देखि रेल चढेर सदरमुकाम तौलिहवा आउने गरेका छन् । नेपाली बाटोबाट आउँदा खर्च बढी पर्ने भएकाले उनीहरू भारतीय रेल चढेर सदरमुकाम आउने गरेका हुन् ।स्थानीयवासीलाई नेपालको बाटो भएर सदरमुकाम आउन चार घन्टा र एक सय रुपैयाँभन्दा बढी खर्च लाग्छ । तर, भारतको बाटो रेल चढेर सदरमुकाम आउँदा आठ रुपैयाँ नेपालीले पुग्छ । उनीहरूले त्यसबाहेक भारतीय बाटो सिद्धार्थनगरबाट तौलिहवा आउन ३२ रुपैयँ थप तिरेपछि पनि सजिलै र कम समय यात्रा गर्ने गरेको कृष्णनगरका स्थानीय वासिन्दा प्रदीप तिवारी बताउँछन् ।सदरमुकाम तौलिहवाबाट ७० किमि पश्चिम दक्षिणमा रहेका २२ गाविसका गाउँलेले नेपालको बाटोभन्दा भारतीय रेलमार्गबाट आउँदा छिटो र सहज माध्यम भएकाले रेल प्रयोग थालेका हुन् । विशेषगरी कृष्णनगर, सिर्सिहवा, शिवानगर, विद्यानगर, बिसनपुर, खुरहुरिया, जवाभारी, गणेशपुर, गुगौलीलगायत गाविसका स्थानीय भारतीय बाटो हुँदै रेलमा तौलिहवा आवत-जावत गर्ने गर्छन् ।नेपाल-भारत सिमाना कृष्णनगरबाट मर्यादपुर सिमानासम्म रेलमार्गबाट यात्रा गरी सदरमुकाम तौलिहवा आउँदा सुरक्षा हुने उनले बताए । नागरिकता बनाउन आएका सिर्सिहवाका नन्दराम चौधरीले सशस्त्र समूहले नेपालको बाटो भएर आउँदा लुटपाट, अपहरणलगायत अपराध गर्ने भएकाले भारतीय क्षेत्र सुरक्षित रहेको जानकारी दिए ।त्यस्तै, गुगौगीकी रन्जु यादव नेपालको बाटो भएर सदरमुकाम जान बढी समय लाग्ने भएकाले भारतीय रेल प्रयोग गर्दै आएको बताउँछिन् । नागरिकता, राहदानी, जन्मदर्ता तथा अन्य सेवा लिन सो भेगका गाउँले सदरमुकाम आउने गरेका छन् ।सशस्त्र समूहको ज्यान लिने धम्की तथा चन्दा आतंकले गाविस सचिव विस्थापित भई सदरमुकाममै खुम्चिएपछि सर्वसाधारण सेवाग्राही सानो कामका लागि पनि सदरमुकाम जानुपर्ने बाध्यतामा छन् । उनीहरूलाई सहज मानिएको तौलिहवा-बहादुरगन्ज जोड्ने हुलाकी सडकमा रहेको वाणगंगा नदीमा पुल नभएकाले सदरमुकाम आउन असहज भएको गाउँलेको गुनासो छ ।

No comments: