News

Dec 27, 2008

आदिवासी गीति एलबमको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
Dec 20,2008 साँझ, याक एण्ड यती रेष्टुरेन्टको पहिलो तलामा आदिवासी गीतकार समाज हङकङले आफ्नो पहिलो साँगीतिक कोशेलीस्वरुपको आदिवासी गीति एलबमको एउटा औपचारिक कार्यक्रमको आयोजना गरेर विमोचन गरेको छ । आदिवासी गीतकार समाजका सचिव अशोक राईद्वारा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष प्रदीप कन्दङवाले गरेका थिए, जसको प्रमुख अतिथि हङकङ नेपाली महासँघका अध्यक्ष हेम लिम्बू र विशेष अतिथि यनआरयनको एसिया प्यासिफिक कोअर्डिनेटर गणेश इजम रहेका थिए ।
यहाँस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु अन्य अतिथि रहेका उक्त कार्यक्रमलाई समाजका सल्लाहकार हाङयुग अज्ञातले स्वागत मन्तव्य दिएका थिए । मान्छे भएर जन्मेपछि मान्छे भएर बाँच्न पाउनु पर्ने अधिकारको सम्बर्द्धन गर्न यस समाजको साँगीतिक आन्दोलन रहेको बताउने स्वागत मन्तव्यपछि कार्यक्रमका प्रमुख र विशेष अतिथिबाट आदिवासी शीर्षकको उक्त गीति सङ्गालोको विमोचन गरिएको थियो । विमोचनको कार्यक्रमपछि राखिएको मन्तव्यको क्रममा विभिन्न वक्ताहरुले आदिवासी गीतहरु, आदिवासी समस्याहरु तथा वर्तमान नव निर्माणको क्रममा रहेको नेपालको बारेमा आआफ्ना विचारहरु राखेका थिए । यसरी मन्तव्य राख्नेहरुमा थिएः-संगीतकार तथा हिमालयन टोन्सका सञ्चालक दिनेश सुब्बा, गीतकार तथा खोटाङ समाजका अध्यक्ष भोगेन एक्ले, नेपाली कलाकार संघका अध्यक्ष सुरेन लिम्बू, कवि कमल पौड्याल, अनेसासका अक्ष्यक्ष मोती चाम्लिङ, गीतकार तथा जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, कवि शरण सुब्बा, विशेष अतिथि गणेश इजम र प्रमुख अतिथि हेम लिम्बू । अन्त्यमा, उक्त कार्यक्रमका सभापति तथा आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङ्वाले सबैलाई धन्यवाद दिई आदिवासी एलबमको बारेमा आफ्नो मन्तव्य राखी कार्यक्रमको औपचारिकतालाई विसर्जन गरेका थिए ।
स्थानीय संगीतकारहरु दिनेश सुब्बा, नागेन्द्र श्रेष्ठ, स्थानीय गीतकारहरु तथा स्थानीय गायक, गायिकाहरुबाट निःशुल्क रुपमा तयार पारिएको उक्त सीडीमा काठमाण्डौबाट बुलुँ मुकारुङ तथा आभा मुकारुङ, जगदिश समाल, अन्जना गुरुङ, भीषण मुकारुङ पनि यस आदिवासी एलबममा सहभागी रहेका छन् । सीडी स्थानीय म्युजिक पसलहरुमा सर्वत्र उपलब्ध हुने बताइएको छ ।

No comments: