News

Dec 25, 2008

मोबाइलका कारण दाम्पत्य जीवन खतरामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तपाईंसँग मोबाइल छ ? छ भने विचार पुर्‍याउनुहोस् । नत्र, सञ्चारको यही लोकप्रिय साधनले तपाईंको दाम्पत्य जीवनमा खतरा ल्याइदेला, पर्वत कुश्माकी सिर्जना गिरीको जस्तै ।सिर्जनालाई के थाहा, उनको मोबाइलले नै उनीमाथि अत्याचार निम्त्याउला भन्ने । मोबाइलमा विपरीत लिंगीले पठाएका गोप्य एमएमएस र एसएमएस फेला पारेपछि उनका श्रीमान् जीवन गिरीले उनीमाथि कुटपिट सुरु गरे रे । सिर्जनाकै शब्दमा 'कुटपिट एकपटक होइन, दुईपटक होइन, पटक-पटक जारी रह्यो ।' भनिन्, 'अन्ततः म यातना खप्न नसकेर बिहे भएको सात महिनापछि दाइजो फिर्ता मागेर माइत हिँडेँ ।' बिहेमा ल्याएका दाइजो सिर्जनाले बुधबार गाडी चढाएर माइतीतिर लैजाँदै गरेको दृश्य हेर्न कुश्मा बजारमा सानोतिनो भीड नै जम्मा भएको थियो ।पर्वतको सदरमुकाम शिवालय- ३ का जीवन गिरीसँग गत २८ असारमा सँगै जिउने सँगै मर्ने वाचासहित वैवाहिक बन्धनमा बाँधिएकी कास्की बैदामकी सिर्जनाले आफूले प्राप्त गरेका एमएमएस र एसएमएस आफन्तहरूबाट आएको बताइन् । उनले भनिन्, 'त्यो त उसको फोकटको निहुँ खोज्ने बाटो मात्रै हो । मलाई त अन्याय गरे-गरे, मेरो मोबाइललाई समेत दोष लगाए उनीहरूले ।' तर उनका श्रीमान् जीवनले भने सिर्जनाको चरित्रमाथि प्रश्न उठाएका छन् । उनले भने, 'उसको मोबाइलमा रहेका कुराहरू उसका आफन्तले पठाएका मात्र छैनन् । अरू पनि छन् । त्यो मलाई थाहा छ ।'सिर्जनाले आफूमाथि यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वत, सामुदायिक सेवा समाज र महिला सुरक्षा दबाब समूहमा दिएको उजुरीका आधारमा परिवारबाट छुटकारा पाउने अवसर पाएकी हुन् । श्रीमान् मात्रै नभएर सासूले समेत दाइजो कमी ल्याएको भन्दै विभिन्न अपशब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको सिर्जनाले बताइन् । 'विवाहमा मोटरसाइकल र कार नल्याएको भन्दै विवाहको दुई साता नबित्दै खान-बस्नसमेत भेदभाव गर्ने गर्थे,' उनले गुनासो गरिन् । खान नदिएपछि माइतीबाट ल्याएर जीवन गुजारेको उनले बताइन् । सिर्जनालाई घरपक्षबाट केही समयका लागि खान-बस्नको व्यवस्था गरिदिने र क्षतिपूर्तिबापत श्रीमान्को हकमा रहेको अंशबाट श्रीमतीले पाउने हकहिस्सा प्रदान गर्ने सहमति भएको महिला सुरक्षा दबाब समूहकी अध्यक्ष मिना लम्सालले बताइन् ।

No comments: