News

Dec 23, 2008

एसिसी यु- १९ वुमन्स क्रिकेट च्याम्पियनसिप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किशोरीहरूको नेपाली टोलीले एसिसी यु- १९ वुमन्स क्रिकेट च्याम्पियनसिप जितेको छ । थाइल्यान्डको चियाङ मेई क्रिकेट मैदानमा मंगलबार भएको फाइनल अनुमान गरेभन्दा सहज रूपमा जित्दै टोलीले लामो समयपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाए । लगभग ढेड वर्षपछि नेपालले कुनै पनि समूहगत खेलको अन्तर्राष्ट्रिय उपाधि जितेको हो । यसअघि, अन्तिमपटक नेपालको मेन्स टोलीले अगस्ट २००७ मा एसिसी यु- १९ एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । सो अन्तरालमा अन्य समूहगत खेलमा पनि नेपालले प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि जित्न सकको थिएन । लामो समयपछिको अविस्मरणीय र सानदार उपाधि नेपाललाई दिलाउने क्रममा किशोरीहरूले मलेसियाली टोलीलाई सात विकेटले हराए । टोलीले प्रतियोगिताको पहिलो खेलमा पनि मलेसियालाई पराजित गरेको थियो । 'जितका लागि हामीसँग विजेता टोली रहेको जानकारी थियो, लामो समयदेखि खेलिरहेका थियौँ, त्यसैले प्रतिस्पर्धामा आत्मविश्वाससाथ उत्रिएका थियौँ,' क्रिकेटमा नेपाललाई पहिलो महिला अन्तर्राष्ट्रिय उपाधि दिलाएपछि कप्तान नेरी थापाले भनिन् । थापा गत वर्ष सम्पन्न सिनियर एसिसी वुमन्स क्रिकेट टोलीकी समेत कप्तान हुन् । उनको कप्तानीमा रहेको नेपाली महिला टोली पहिलो सहभागितामै उपविजेता भएको थियो । 'नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा यस स्तरको सफलता पाउनु खुसीको क्षण हो,' नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले भने, 'यसले महिला क्रिकेटमा अझ ठूलो उपलब्धिको आशा देखाएको छ ।' प्रभावकारी क्षेत्ररक्षण र घातक बलिङकै बलमा नेपालले मलेसियालाई सहजै पराजित गरेको हो । २४ डिग्री सेल्सियस तामक्रम रहेको चियाङमईको घमाइलो वातावरणमा टस जितेको नेपाली टोलीले पहिले फिल्डिङको निर्णय गर्‍यो । सोही कारण पहिले ब्याटिङ थालेको मलेसिया १६ ओभर दुई बलमा ४५ रनको योगफल मात्र तयार गरी धराशयी भयो । नेपालका किशोरी खतरनाक बलिङमा उत्रिएपछि यसअघि उपाधिको दाबेदार मानिँदै आएको मलेसियाका कुनै पनि ब्याट्सवुमन तीन रनभन्दा बढी जोड्न सक्षम भएनन् । अझ चार मलेसियाली खेलाडी त डक आउट भए । मलेसियाका दुई ब्याट्सवुमनले तीन-तीन रन मात्र जोडे । चारजना दुई-दुई रन जोड्न सफल भए । मलेसियालाई थोरै योगफलमा समेट्न सोनु खड्काको बलिङले निकै मद्दत गर्‍यो । पाँच ओभर बलिङ गरेकी खड्काले तीन मेडन राखी नौ रन मात्र खर्चेर तीन विकेट लिएकी थिइन् । प्रभावशाली बलिङका कारण उनी प्लेयर अफ द म्याच घोषित भइन् । यसैगरी, सीता मगर र रेखा रावलले दुई/दुई विकेट लिए । केशरी चौधरी र तृष्णा सिंहले एक/एक विकेट लिए । यद्यपि, मलेसियाले जोडेको योगफलमा नेपालले दिएको ३० अतिरिक्त रन पनि सामेल छ । जितका लागि तातेका नेपाली खेलाडी ब्याट् र प्याडका साथ मैदानमा उत्रँदा चियाङमईको तामक्रम पनि एक डिग्री सेल्सियस बढेर २५ पुगेको थियो । मलेसियाली बलर कम घातक देखिएपछि ११ ओभर पाँच बलमै नेपाली टोलीले ४७ रनको योगफल तयार गर्‍यो । विजयी योगफल तयार गर्ने क्रममा नेपालले तीन ब्याट्सवुमन भने गुमायो । जितका लागि ओपनर माया रावतले सर्वाधिक १५ रनको योगदान दिइन् । अविजित रहेका तृष्णा सिंह -९) र सीता मगर -८) को योगदान पनि कम थिएन । नेपालकी रोशनी बोहरा र बिनु मगरले भने कुनै रन जोड्न सकेनन् । मलेसियाकी नुर एसासले दुई र विनपिmड डुरेसिंगमले एक विकेट लिएका थिए । 'नेपालले राम्रो खेलेकामा शंकै छैन,' खेल सकिएपछि मलेसियाली प्रशिक्षक भी कालिदासले प्रतिक्रिया दिए । 'हामीले राम्रो खेल्यौँ,' नेपाली टोलीका प्रशिक्षक जमिल अन्सारीले भने । 'प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन बलिङ, ब्याटिङ र फिल्डिङ गरी तीनवटै क्षेत्रमा राम्रो भयो,' क्यान अध्यक्ष पाण्डेले भने, 'यस जितले आगामी एसियन गेम्समा पनि नेपाली टोलीको सम्भावना बढाएको छ ।' सन् २०१० मा चीनमा हुने एसियाली खेलकुदमा ट्वान्टी-२० क्रिकेटलाई समावेश गरिएको छ । त्यसैलाई लक्षित गर्दै एसिसीले पनि २००९ मा ट्वान्टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । एसिसीले गर्ने त्यस प्रतियोगिताका शीर्ष तीन टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् ।

No comments: