News

Dec 22, 2008

जनतान्त्रिकको वार्ताटोली सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा सशस्त्र संघर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका तीनजना प्रमुख नेता सोमबार जनकपुरमा सार्वजनिक भएका छन् ।सरकारसित वार्ता गर्न मोर्चाद्वारा गठित टोलीका संयोजकसहित तीनजना सदस्य सार्वजनिक भएका हुन् ।नेपाल-भारत सीमा क्षेत्र महोत्तरीको भिठामोडबाट स्थानीय प्रशासनको गाडी चढेर जनकपुर आएका मोर्चाका केन्द्रीय प्रवक्ता एवं वार्ताटोलीका संयोजक सञ्जय गुप्ता उर्फ कौटिल्य शर्मा, केन्द्रीय सदस्य रविदत्त मिश्रा र मोर्चाका वैकल्पिक केन्द्रीय सदस्य गुलाम सरवर शेख पत्रकार सम्मेलन गरी सार्वजनिक भएका हुन् ।धनुषाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला र प्रहरी नायव उपरीक्षक यादवराज खनालको रोहवरमा जनकपुरस्थित अधिकृत संगममा उनीहरूले पत्रकार सम्मेलन गरेका थिए । वार्ताटोली संयोजक गुप्ताले सरकारका प्रतिनिधि र सरकारद्वारा नियुक्त सहजकर्ताबीच आन्तरिक छलफलपछि निकट भविष्यमा औपचारिक वार्ता थालिने बताए । वार्ता साकारात्मक हुने र सरकारले चाहेमा चाँडै देशमा शान्ति स्थापना हुने उनको दाबी छ ।आफ्ना न्यूनतम तीनवटा सर्त पूरा भएपछि वार्ता हुने उनले बताए । सरकार र मोर्चाबीच अन्तरक्रिया गर्ने, आफना कार्यकर्तालाई रिहाइ गर्ने र वार्ता जनकपुरमा गर्नुपर्ने मोर्चाका सर्त छन् । वार्तामा समावेश गरिने मुद्दाबारे बताउन नमानेका गुप्ताले वार्ताको तिथि निश्चित भइसकेपछि सोबारे जानकारी गराउने बताए ।

No comments: