News

Dec 20, 2008

सेना समायोजन समितिबारे सहमति हुन सक्ने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका प्रमुख दलबाट दुई दुईजना सदस्य सहभागी गराउँदै माओवादी सेना समायोजन समिति पुनर्गठन गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक देखिएका बताइएको छ। यस्तो प्रगति शनिवार प्रधानमन्त्री प्रचण्ड र नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको तर्फबाट नेता शेखर कोइरालाबीचको भेटमा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले बीबीसी नेपाली सेवालाई बताए। उनका अनुसार शेखर कोइराला नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सन्देश लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्याहाँ दुवै पक्षबीच सेना समायोजन विशेष समितिको बनौटका विषयलाई लिएर जारी गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ। त्यसबारे बुझ्न नेता कोइरालासँग सम्पर्क गर्ने पटक पटकको प्रयास विफल भयो। तर शर्माका अनुसार देशभर माओवादी कार्यकर्ताहरुबाट कब्जा गरिएका भनिएका घरजग्गा फिर्ता गराउने विषयमा अध्ययन गर्न एउटा संसदीय समिति बनाउने प्रस्ताव प्रधानमन्त्रीले अघि सारेका छन्। उनले भने, "सेना समायोजन विशेष समिति लगायतका विषयहरुमा देखिएका गतिरोध अन्त्य गरेर अघि बढ्नु पर्ने कुरामा दुवै पक्ष सकारात्मक छन्।" प्रधानमन्त्रीले कार्तिक २६ गते सदनसमक्ष गरेको प्रतिबद्धता पालना नभएको भन्दै नेपाली काँग्रेसले बिहीवार व्यवस्थापिका संसदको हैसियतमा बसेको संविधानसभाको बैठक बहिष्कार गरेको थियो। प्रधानमन्त्री र कोइराला पक्षबीचको वार्ता सकारात्मक भएको बताइएपनि नेकपा माओवादी र नेकपा एमालेबीच शनिवारका लागि निर्धारित अर्को बैठक अचानक स्थगित भएको छ। उता सरकारमा सामेल अर्को मुख्य दल मधेशी जनाधिकार फोरमबाट सरकार छोड्ने धम्की आउने क्रम रोकिएको छैन। यी सबै चुनौतीहरूका बीच सेना समायोजन विशेष समितिले काम शुरु गर्न सकेमा माओवादी पूर्व लडाकूहरुको ब्यवस्थापन र पुनर्स्थापनाको बाटो खुल्न सक्छ।

No comments: