News

Dec 24, 2008

ज्वालासिंहका कार्यकर्ताद्वारा हतियारसहित आत्मसमर्पण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहट, ९ पुस तराईमा आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहका जिल्ला अध्यक्षसहित पाँचजनाले बुधबार हतियारसहित आत्मसमर्पण गरेका छन् । सो समूहमा लागेर आफूहरूले गल्ती गरेको भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा आत्मसमर्पण गरेका हुन् । आफूलाई ज्वाला समूहको रौतहट अध्यक्ष बताउने शेरसिंह उर्फ शेख कुरानसहित कौशल किशोर ठाकुर, जवाहर पटेल, मकर गिरी, नरेश पटेलले आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेहरूले सात थान नलकटुवा पेस्तोल र १० थान गोली प्रहरीलाई बुझाएका छन् । तर, प्रहरीले उनीहरूसँग अत्याधुनिक हतियार भएको आशंका गरेको थियो । विभिन्न आपराधिक गतिविधिमा संलग्न शेरसिंह प्रहरीको खोजी सूचीमा थिए । उनको नेतृत्वको समूहले रौतहटका आधादर्जनको ज्यान लिएको प्रहरीले जनाएको छ । यसैबीच, भूमिगत समूहको गतिविधि बढेको भन्दै रौतहटलगायत तराईका केही जिल्लामा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट थप प्रहरी बल परिचालन गरिएको छ । तराईका बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषामा थप प्रहरी परिचालन गरिएको हो । एक जिल्लामा ६० जनाका दरले थप प्रहरी बल परिचालन गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । थप प्रहरी बल इलाका प्रहरी कार्यालय र चौकीमा राखिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटमा जनपद र सशस्त्र प्रहरीले दैनिक गस्ती गरे पनि आपराधिक गतिविधि र चन्दा आतंक रोकिएको छैन । सर्वसाधारण तथा व्यवसायीले आफूहरू असुरक्षित भएको गुनासो गर्दै आएका छन् ।

No comments: