News

Dec 30, 2008

नेपाल र बहराइनबीच हवाइ सम्झौता सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सरकार र बहराइन सरकारका प्रतिनिधिमण्डलबीच हवाइसेवा सम्झौतामा हस्ताक्षर भएको छ । राजधानीमा सोमबार भएको छलफलपछि हवाइसेवाबारे प्रारम्भिक हस्ताक्षर भएको जनाइएको छ । सन् १९९७ मा भएको हवाई सेवा सम्झौतामा हवाई नीति, २०६३ अनुकूल हुनेगरी तथा हवाई सुरक्षालाई अझ अभिवृद्धि गर्नेगरी तयार पारिएको नयाँ परिमार्जित सम्झौताका साथै नयाँ हस्ताक्षरित समझदारीपत्रमा विभिन्न सहमति भएको छ । सहमतिअनुसार दुवै पक्षका तोकिएका वायुसेवा कम्पनीहरूले प्रतिहप्ता २८ यात्रु उडान सञ्चालन गर्नसक्ने मौजुदा सम्झौतामा बहराइन पक्षले काठमाडौँ-बहराइन वृत्तखण्डमा हाल थप गरिएको १४ यात्रु उडान सिधामात्र सञ्चालन गर्नसक्नेछ ।यसैगरी दुवै पक्षका तोकिएका वायुसेवा कम्पनीहरूले प्रतिहप्ता सिधा २८ मालवाहन उडान सञ्चालन गर्नसक्ने र पर्यटन तथा नागरिक उड्डयनक्षेत्रमा द्विपक्षीय सहयोगका क्षेत्र पहिचान गरी ती क्षेत्रमा जनशक्ति विकासका लागि सहयोग विस्तार गर्ने सहमति भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपालले सन् २०११ लाई नेपाल पर्यटन वर्षा रूपमा मनाउन गइरहेको परिप्रेक्ष्यमा नयाँ समझदारीमा भएको व्यवस्थाले दुवै मुलुकका बीच हवाई उडान वृद्धि हुन गई नेपालको पर्यटन प्र्रवर्द्धनमा सघाउ पुग्ने र बहराइनमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूलाई समेत सरल र सुलभ ढङ्गबाट सोझो हवाई सेवा प्राप्त हुने विश्वास मन्त्रालयले लिएको छ ।

No comments: