News

Dec 25, 2008

माओवादी र एमालेबीच उन्नतस्तरको राजनीतिक सहमति बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादी र एमालेबीच शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन, नयाँ संविधान निर्माण गर्न, सामाजिक आर्थिक संरचना विकसित गर्नका लागि उन्नतस्तरको राजनीतिक सहमति बनाउने निर्णय भएको छ । सत्तारुढ दलहरुबीचमै विवादहरु तीब्र हुन थालेपछि त्यसको समाधान खोज्न नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको दुबै दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो । बैठकमा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरु डा. बाबुराम भट्टराई र देब गुरुङ, पार्टी नेता मोहन बैद्य तथा एमालेका महासचिव झलनाथ खनाल, नेता माधवकुमार नेपाल, केपी ओली लगायतको उपस्थिति थियो । बैठकले नेकपा माओवादी र एमालेबीचको सम्बन्धलाई मजबुत बनाउन नयाँ ढङ्गले पहल गर्ने तथा एमाले र माओवादीबीच विगतमा भएका सहमतिको समीक्षा गरी प्रतिवेदन पेश गर्न माओवादी नेता देव गुरुङ र एमाले नेता भीम रावल रहेको समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा माओवादी र एमालेबीचका तिक्तता समाप्त भएको घोषणा गर्न दुबै दलका शीर्ष नेताहरुले आ-आफ्ना पार्टीको केन्द्रीय र क्षेत्रीय स्तरका नेता तथा कार्यकर्तालाई जानकारी गराउँदै निर्देशन दिने सहमति भएको छ । यसैगरी, राजनीतिक र संवैधानिक नियुक्तीका बारेमा दुबै दलबीच आइतबार निष्कर्षमा पुग्न प्रयास गरिने तथा लगानी बोर्ड गठनका विषयमा अर्थमन्त्री डा. बाबुराम भट्टराई र जलस्रोत मन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र यसले बोर्ड गठनको प्रक्रियालाई टुङ्गो लगाउने जिम्मेवारी दिने बैठकमा सहमति भएको छ ।

No comments: