News

Dec 22, 2008

एसिसी यु-१९ वमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली महिला क्रिकेट टोली एसिसी यु-१९ वमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार चियाङ मई जिमखाना क्रिकेट मैदानमा भएको सेमिफाइनलमा आयोजक थाइल्यान्डलाई ८३ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । नेपाली किशोरीको टोलीले मलेसियाविरुद्ध मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोमबार नै भएको अर्को सेमिफाइनलमा मलेसियाले हङकङलाई दुई रनले पराजित गरेको थियो । टस जितेको थाइल्यान्डले निम्तो दिएपछि नेपालले पहिले ब्याटिङ गर्‍यो । टोलीकी तृष्णा सिंहले ३३ रनको योगदान दिएपछि निर्धारित २५ ओभरमा नेपालले १ सय ३२ रनको योगफल तयार गर्‍यो । सो योगफल तयार गर्दा नेपालले आठ विकेेटको क्षति व्यहोरेको थियो । प्रत्युत्तरमा आएको थाइल्यान्ड १५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाई ४९ रनमा समेटियो । थाइल्यान्डलाई थोरै रनमा समेट्ने क्रममा नेपाली किशोरीले घातक बलिङको नमुना देखाएका थिए । जसमा रेखा रावल र केशरी चौधरीले तीन-तीन, सीता मगरले दुई र सोनु खड्काले एक विकेट लिए । थाइल्यान्डलाई सानदार रूपमा पराजित गरे पनि नेपालको सुरुवात भने गतिलो थिएन । टोलीले १४ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो । ओपनरद्वय माया रावत-२) र सरिता मगर-२) फितलो देखिए । यद्यपि, माया रावत प्रतियोगिताका खेलमा सय रन पूरा गर्ने तीनमध्येकी एक खेलाडी हुन् । तेस्रो क्रममा ब्याटिङमा आएकी तृष्णाले क्रिजमा टिक्दै जितको आधार तयार गरेकी थिइन् । ६२ बल सामना गरेकी तृष्णाले दुई चौका प्रहार गरिन् । उनको अभियानमा विनु मगर-२३)ले गतिलो साथ दिइन् । ३२ बल सामना गरेकी मगरले दुई चौका प्रहार गर्न भ्याइन् । यसबाहेक टोलीका लागि सीता मगर-१४)ले उल्लेखनीय योगदान दिइन् । निर्धारित ओभर सकिँदा रेखा रावल ६ रनमा र रोसनी बोहरा १ रनमा अविजित थिए । कप्तान नेरी थापाले भने दुई रन जोडिन् । थाइल्यान्डकी बलर पिराओर्न कमला बलिङमा खतरनाक देखिइन् । नेपालकी प्लेयर अफ द म्याच तृष्णालगायत उनले चार विकेट लिइन् । थाइल्यान्डको ब्याटिङमा दोहोरो अंकको रन जोड्ने कुनै खेलाडी भएन । सर्वाधिक रन जोड्नेमा पुण्डारिका प्राथान्नमिर-८) र नारिवेल चाइवाई-७)मात्र थिए ।

No comments: