News

Aug 3, 2009

ओडारमा ४६ वर्ष खड्गबहादुर लुङ्बा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हेटौंडा,चट्टानी पहाडको बीचमा रहेको सानो ओडार, जसमा मुस्किलले उनको सिंगो शरीर छिर्न सक्छ। दिउँसै अँध्यारो हुने ओडारको भित्तामा थोत्रा लुगाफाटा झुन्डयाइएको छ। हँसिया र लौरो पनिसँगै ठडयाएर राखिएको छ। कुच्चिएको सिलाबरे थाल अनि भात पकाउँदा कालाम्मे भएको डेक्ची र बिट भाँचिएको एउटा गिलास लडिरहेको छ। मकवानपुरको भैंसे गाविस-७ को पाखामा रहेको ओडारभित्र देखिएको दृश्य हो यो। उमरेले करिब आठ दशक काटिसकेका खड्गबहादुर लुङ्बा उक्त ओडारमा बस्दै आएको करिब पाँच दशक हुन लागेको छ। बूढीचौरको ५ नम्बर वडा कुरडाँडाबाट किशोरावस्थामा एक्लै भैंसेतिर हानिएका लुङ्वा ओडारमा पनि एक्लै बस्छन्, एक्लै जंगल घुम्छन्, दाउरा काट्छन् र त्यसबाट कमाएको पैसाले ‘ओडार खर्च’ र्टार्छन्। अन्तर्मुखी स्वभावका उनी कोही आफ्नो ओडारनजिक आइपुगे वा कसैले ओडार देखे भने तत्काल अर्को ओडारमा बसाइँ र्सछन्। पहिलेदेखि ओडारमा बस्न रुचाउने र खोरिया फाँडेर बस्ने स्वभाव भएका उनको यस्तै बानीका कारण बिहे हुन नसकेको भतिज प्रेम लामा बताउँछन्। महिलालाई छुँदा अपराध भएको ठान्ने उनी दाउरा बेचेको पैसा गृहिणीले दिइन् भने भुइँमा राख्न आग्रह गर्छन् र त्यसपछि मात्रै आफूले उठाउने गर्छन्। चौध वर्षघि पहिरोले ओडार पुरिँदा बन्चरो पुरिएपछि लुङ्बासँग अहिले बन्चरो छैन। दाउरा काट्न उनी हँसियाको प्रयोग गर्छन्। २०-२५ वर्षअघिसम्म अरूले दिएको नखाने र पैसा पनि नलिने उनी अहिले चिनेजानेकाले दिएको पैसा र खानेकुरा मुस्किलले स्वीकार गर्ने गरेको लामाले बताउनुभयो। वृद्धावस्थामा पनि साहसी लुङ्बा भीरमा चढ्ने र खतरनाक रुखमा चढ्न सक्ने सम्झँदै लामाले ‘उनले बरदान नै पाएको हो कि’ भनी आर्श्चर्य प्रकट गर्नुभयो। बैंस छँदा चौध कप चिया र सात प्लेट मम खाजाको रूपमा खान सक्ने उनलाई अहिलेसम्म खासै रोगले नभेटेको लामाले बताउनुभयो। कहिलेकाँही साधारण बिरामी हुँदा मुस्किलले औषधि खाने गर्छन् उनी। उनका परिवार र गाउँलेले औषधि उपलब्ध गराउँछन्। दाउरा बेचेको पैसाले आफ्नो जीवन धान्न आवश्यक पर्ने सामग्री किनमेलका लागि उनी एक्लै ११ किलोमिटर पर हेटौंडा बजार आइपुग्छन् र सामान किनेर र्फकंदा पनि बस चढ्दैनन्। बाटोमा पुल पर्यो भने पुलबाट हिँड्दैनन् बरु खोलाबाट हिँड्न तयार हुन्छन्। उनीसँग अहिले दाउरा बेचेको करिब ६ सय रुपियाँजति रहेको भतिज लामाले बताए। ओडारमा बस्दै आएका उनलाई सडकछेउमा छाप्रो बनाएर राख्ने परिवार र गाउँलेको प्रयास सफल हुन सकेन। ‘घर बनाएर उहाँलाई सुरक्षित बासको व्यवस्था गर्न लागेका थियौं तर, उहाँले घरमा बस्नै मान्नुभएन’, भतिजको भनाइ थियो। अनौठो व्यवहार भएका लुङ्बालाई गाविस र स्थानीय राप्ती क्लबले सहयोग गर्दै आएको छ। अर्कै गाविस पुर्ख्यौली थलो भएका कारण उनको नागरिकता पनि बन्न सकेको छैन। ७८ वर्षीय उनी परिवारका साइँला छोरा हुन्। उनका दाजुभाइ अहिले पनि बूढीचौरमै बस्छन्।

No comments: