लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १ - तिब्बतको राजधानी ल्हासा पुगेको सुरक्षा टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा तिब्बती शरणार्थीको बढदो अवैध चलखेलप्रति गम्भीर चासो व्यक्त गरेका छन् । चिनियाँ सुरक्षा अधिकारीले भारतबाट हरेक वर्ष सयौंको संख्यामा शरणार्थीहरू भित्रिएकाले नेपालमा तिब्बती शरणार्थीको संख्या बढदै गएकोप्रति गम्भीर चासो व्यक्त गरेको टोलीका एक सदस्यले ल्हासाबाट टेलिफोनमा कान्तिपुरलाई बताए ।उच्चस्तरीय सुरक्षा बैठकका लागि सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक किशोर लामाको नेतृत्वको २० सदस्यीय नेपाली टोली शुक्रबारदेखि ल्हासामा छन् । 'खासामा दलाई लामाबाट प्रशिक्षित ती शरणार्थीले नै नेपाली भूमिमा चीनविरोधी गतिविधि चर्काइरहेका छन् । उनीहरूले नेपाली शरणार्थीलाई समेत भडकाइरहेका छन् । यस विषयलाई तपाईहरूले गम्भीरतासाथ हेरिदिनुपर्यो' शनिबारको बैठकमा चीन तिब्बतका एक उच्च सुरक्षा अधिकृतले राखेको भनाइ उद्धृत गर्दै ती नेपाली सुरक्षा अधिकृतले भने । तिब्बतसँग जोडिएको सीमामा सुरक्षा बल स्थापना र सीमा क्षेत्रबाट हुने अपराध तथा दुई मुलुकको अहित हुने कार्य नियन्त्रणमा विशेष सजगता अपनाउन चिनियाँ सुरक्षा अधिकारीले अनुरोध गरेका छन् । चिनियाँ पक्षबाट बैठकमा तिब्बतीयन स्वायत्त क्षेत्र परिषदका उपाध्यक्ष लि झाओ र सुरक्षा विभाग प्रमुखलगायत सुरक्षा अधिकारी सहभागी छन् । चिनियाँ सुरक्षा अधिकारीले आफूसँग सीमा जोडिएका अन्य मुलुकमा स्थापित सीमा सुरक्षा बलबारे नेपाली टोलीलाई जानकारी गराएका थिए । नेपाल र चीनको अधिकांश सीमा हिमाल र पहाडमा रहेकाले 'हाइ अल्टिच्युड' क्षेत्रमा सुरक्षाकर्मीले अपनाउनुपर्ने सावधानी र प्रयोग गर्नुपर्ने साधन, उपकरणबारे पनि बैठकमा छलफल भएको थियो । तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा पनि सुरक्षा बल गठनको पहल गर्न चिनियाँ पक्षले नेपाली सुरक्षा अधिकारीलाई आग्रहसमेत गरेका छन् । 'सीमा सुरक्षार्थ खटिने नेपाली सुरक्षाकर्मीलाई उन्नतस्तरको तालिम र उपकरणमा सघाउने प्रतिबद्धता जनाएका छन्,' एक सुरक्षा अधिकृतले भने । सीमा क्षेत्रमा प्रहरीको लियाजो अफिसर राख्ने र हटलाइन केन्द्र स्थापना गर्ने सम्बन्धमा पनि चिनियाँ सुरक्षा अधिकारीले प्रस्ताव गरेको उनले बताए । चिनियाँ पक्षले दलाई लामाकालीन तिब्बत र अहिलेको विकसित तिब्बतबारे नेपाली टोलीलाई बेलिविस्तार लगाएका थिए । प्रतिकूल भूगोल र वातावरणका बाबजुद बितेका पाँच दशकमा तिब्बतमा भएको विकास विश्वकै लागि नमुना भएको धारणा राखेका थिए । भ्रमणका क्रममा तिब्बतमा भएको विकासका ठूला उदाहरण, ऐतिहासिक स्थलमा भ्रमण र सांस्कृतिक, सामाजिक अवस्थाबारे जानकारी दिइनेछ ।
No comments:
Post a Comment