News

Aug 10, 2009

उपराष्ट्रपतिविरुद्धको मुद्दामा सुनुवाई आज गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २७ सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झालाई पदमा रही काम गर्न रोक्न अन्तरिम आदेश जारी गर्ने नगर्ने बारे मंगलबार सुनुवाइ गर्ने भएको छ। उपराष्ट्रपति झाले सर्वोच्चलाई लिखित जवाफ दिँदै अदालतबाट भएका सबैखाले आदेश चुपचाप कार्यान्वयन गरेमा अराजकता र असुरक्षा उत्पन्न हुने दाबी गरेका छन्।उपराष्ट्रपति झालाई नेपालीमा सपथ नलिई पदभार ग्रहण गर्न नमिल्ने भएकाले पदमा बस्ने अधिकार नभएको भनी नवराज न्यौपाने र विष्णुप्रसाद बाँस्तोलाले दिएको रिटमा सुनुवाइ हुने भएको हो। अदालतले सपथ बदर गरिसकेपनि नेपाली भाषामा सपथ नलिई पदमा कायम रहने अधिकार नभएको हुँदा नेपालीमा सपथ नलिने अडानमा रहेका उपराष्ट्रपति झालाई पदबाट हटाउन माग राखी रिट दिइएको थियो। रिटमा गत साउन १८ मा न्यायाधीश भरतराज उप्रेतिको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्ने अदालतमा उपस्थित हुन आदेश दिएको थियो। सर्वोच्च अदालतले उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको सपथ गैरसंवैधानिक भएको निर्णय गर्दै गत साउन ९ गते बदर गरेको थियो। अदालतले उपराष्ट्रपति झासमेत मन्त्रीपरिषद्को कार्यालयलगायतलाई के कति कारणले पदमा बसी काम गर्न दिन हुने नहुने बारे लिखित जवाफ पेश गर्न आदेश दिइसकेको छ।

No comments: