News

Jun 10, 2009

फोरम कार्यकर्ताबीच एकापसमा झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी जनअधिकार फोरमको केन्द्रीय कार्यसमितिको बैठक चल्दै गर्दा सभास्थलअगाडि फोरम कार्यकर्ताबीच एकापसमा झडप भएको छ । अध्यक्ष उपेन्द्र यादवविरुद्ध गच्छादार समूहका कार्यकर्ताले नाराबाजी गरेपछि सुरु भएको झडपमा ३ सभासद् घाइते भएका छन् । दिउसो १२ बजे होटल सम्झनामा कार्यसमितिको बैठक सुरु भएलगत्तै गच्छादार पक्षका कायकर्ताले अध्यक्ष यादवविरुद्ध सडकमा नाराबाजी गरेका थिए। नाराबाजीलगत्तै यादव पक्षधर कार्यकर्ताले पहिल्यै तयार गरेर राखेको बाँसको लठ्ठीले गच्छादार समूहका कायकर्ता खेदेका थिए। यस क्रममा यादव पक्षधर कार्यकर्ताले फोरम सभासद् करिमा बेगम चढेको मोटरसाइकल तोडफोड गरेका थिए। उनलाई सामान्य चोट लागेको छ ।पर्सा क्षेत्र नं. १ की फोरम सभासद् करिमा बेगमले नेतृत्व गरको उक्त समूह पुन: भिड बटुलेर बैठकस्थलतर्फ आउन थालेपछि फेरि झडप भएको थियो । पहिल्यैदेखि तयार यादव पक्षधर कार्यकर्ताको पिटाईबाट पर्साकी सभासद् दुर्गादेवी महतोको हातमा गहिरो चोट लागेको छ। त्यस्तै अर्की सभासद् कलावती पासवानलाई यादव पक्षधर महिला कार्यकर्ताले बीच सडकमा लछारपछार पारेका थिए। नजिकै सुरक्षाकर्मी रहे पनि सुरक्षा नपाएको गुनासो उनले गरिन् ।उनीहरु दुवैले अध्यक्ष यादवविरुद्ध चर्को नारा लगाएका थिए।घाइते सभासद् दुर्गादेवी साह र कलावती पासवानको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुँदै गरेको पर्सा फोरमका उपाध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए ।

No comments: