News

Jun 15, 2009

चितुवाको छालासहित तीनजनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलाली, ३१ जेठ वन कार्यालय कैलालीको विशेष टोलीले चितुवाको छालासहित तीनजनालाई आइतबार पक्राउ गरेको छ । उनीहरू धनगढीको बसपार्कमा पक्राउ परेका हुन् । ना.२ख९४५ नम्बरको बसमा हसुलियाबाट धनगढी आएका उदासीपुर गाविस-१ का हरि बोहरा, मालाखेती-७ अत्तरियाका अमर कुवँर र मसुरिया-४ बडैपुरका विष्णुराज भट्ट पक्राउ परेका हुन् । उनीहरूले बोकेको दुईवटा झोलाबाट ६ थान चितुवाका छाला बरामद गरेको कैलालीका वन अधिकृत मनबहादुर खड्काले बताए । चितुवाको छाला तस्करी भइरहेको थाहा पाएपछि तस्करको खोजी भइरहेको विशेष टोलीका नेता सहायक वन अधिकृत अम्बिका पौडेलले बताए । उनका अनुसार चितुवाको छालासहित उनीहरूलाई पक्राउ गर्न एक सातादेखि २२ जना कर्मचारी परिचालित थिए । बरामद केही छाला आलै छन् । करिब दुई महिनाअघि चितुवा मारिएको हुन सक्ने कर्मचारीको आशंका छ । एउटा छालामा भने दुईवटा गोली लागेको छ । केही छालामा जुँगा, नंग्रा र दाँतसमेत निकालिएको छैन । वन अधिकृत खड्काका अनुसार एउटा चितुवाको छालाको मूल्य ७५ हजारभन्दा बढी पर्ने सुनेको बताए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । ती छाला भारत लैजान लागेको वन कर्मचारीको आशंका छ । तर, पक्राउ परेका हर्क बोहराले आफूलाई दार्चुला घर बताउने मोहन धामीले झोला समात्न लगाएर भागेको बताए । 'दुई हजार रुपैयाँ दिन्छु झोला बसबाट झारिदेऊ भने, मैले झोला झार्न पनि खोजेँ, तर झार्न नपाउँदै पक्राउ परेँ ।' केही समययता सुदूरपश्चिममा वन्यजन्तु चोरी-सिकारी बढेको छ । चोरी-सिकारी रोक्न सुदूरपश्चिम क्षेत्रका वन अधिकृतसहित शुक्लाफाँटा वन्यजन्तु आरक्षका कर्मचारीले एक संयन्त्र बनाएका छन् ।

No comments: