News

Jun 11, 2009

गच्छदारसहित सातजनामाथिको कारबाही अनुमोदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा/ वीरगन्जमा बुधबार सम्पन्न मधेसी जनअधिकार फोरम संस्थापन पक्षको बैठकले पार्टीबाट निष्कासित संसदीय दलका नेता विजयकुमार गच्छदारसहित सातजनामाथिको कारबाही अनुमोदन गर्दै नौबुँदे निर्णय गरेको छ । निर्धारित समयभन्दा तीन घन्टा ढिलो मध्याह्न १२ बजेबाट सुरु भएको बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई मधेस आन्दोलनको उपलब्धि समाप्त पार्न पार्टीमा प्रवेश गरेको घुसपैठियाको आरोप लगाए । उनले गच्छदारलगायत निष्कासितलाई षडयन्त्रकारीको संज्ञा दिँदै भने, 'तिनीहरूलाई कारबाही गरेर निकाल्यौं । अब फोरम सशक्त भएर जान्छ ।' उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री माधवकुमार नेपालको फोरम फुटाउने षडयन्त्रको विरुद्ध सचेत रहन आफ्ना कार्यकर्तालाई अपिलसमेत गरे । बैठकमा ४० मध्ये ३२ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको भनिएको थियो । गच्छदारले कांंग्रेस र एमालेको षडयन्त्रलाई सहयोग गरेको आरोप यादवले लगाए । बैठकले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थनको हस्ताक्षर गरेको विषयमा छानबिनको जिम्मा पार्टीको अनुशासन समितिलाई दिने र समितिको प्रतिवेदनका आधारमा कारबाही गर्ने निर्णय भएको छ । फोरमका ५३ सभासद्मध्ये २९ जनाले सरकारलाई समर्थनसहितको हस्ताक्षर सभामुखलाई बुझाएका छन् । स्थानीय सम्झना होटलमा फोरमको केन्द्रीय बैठक चलिरहँदा बैठकस्थलबाहिर यादव पक्ष र गच्छदार पक्षका कार्यकर्ताबीच झडप भइरहेको थियो । गच्छदारलाई पार्टीबाट निकालेपछि रिक्त हुन आएको संसदीय दलको नेता चयन गर्न केन्द्रीय सदस्य एवं सभासद् सीताराम अग्रवालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति पनि गठन गर्ने निर्णय बैठकले गरेको छ ।

No comments: