News

Jun 13, 2009

गफाडी महिला स्वस्थ हुने वैज्ञानिकको अनुसन्धानले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गफ गर्न पाएपछि महिलाहरू भोकतिर्खा नै बिर्सन्छन् भन्ने उखान नै छ । महिलाको यस बानीलाई नराम्रो मानिँदै आएको छ । तर, खुलेर गफ गर्ने बानी स्वास्थ्यका लागि फाइदाजनक हुने वैज्ञानिकले बताएका छन् । गफ गर्दा प्रोजेस्टेरोन हर्मान बढ्छ । यो पीडा र चिन्ता कम गर्ने हर्मान हो । सामाजिक सम्बन्ध विस्तार गर्न पनि यो हर्मानले सहयोग गर्छ । युनिभर्सिटी अफ मिचिगनका वैज्ञानिकहरूको एक समूहले गफसम्बन्धी अनुसन्धान गरेको थियो । अनुसन्धानमा एक सय साठी महिलामाथि अध्ययन गरिएको थियो । दुई महिलाको एउटा समूह बनाइएको थियो । साथै, महिलालाई थप दुई ठूलो समूहमा विभाजन गरिएको थियो । एउटा समूहका महिलालाई एक-अर्कासँग आत्मीयता बढाउने खालका प्रश्न सोध्न लगाइएको थियो । जस्तै, तपाईं कसलाई सबैभन्दा बढी खाना खान बोलाउन चाहनुहुन्छ ? तपाइंको सबैभन्दा ठूलो उपलब्धि के हो ? आदि । अर्का समूहलाई बोट-बिरुवासम्बन्धी अनुसन्धान-प्रतिवेदनको प्रुफ हेर्न लगाइएको थियो । २० मिनेटपछि, दुवै समूहका महिलाको प्रोजेस्टेरोन जाँचिएको थियो । आत्मीय प्रश्न सोध्न लगाइएका महिलाको प्रोजेस्टेरोन हर्मान बढेको थियो भने प्रुफ हेर्न लगाइएका महिलाको घटेको थियो ।प्रोफेसर स्टेफेनी ब्राउन र उनका सहकर्मीले यो अनुसन्धान गरेका थिए । अनुसन्धानको प्रतिवेदन जर्नल हरमोन्स एन्ड बिह्याभियरमा प्रकाशित छ । अनुसन्धान जैविक प्रक्रिया र सामाजिक व्यवहारबीचको सम्बन्ध पत्ता लगाउन महत्त्वपूर्ण भएको ब्राउनले बताएकी छिन् । ब्राउन भन्छिन्, 'यस अनुसन्धानले बिहे गरेका वा सम्बन्धमा भएका मानिस किन खुसी, स्वस्थ हुन्छन् र लामो समय बाँच्छन् भन्ने बुझ्न सहयोग गरेको छ ।' प्रोजेस्टेरोन हर्मान पाठेघरमा उत्पादन हुन्छ । यसले महिलालाई गर्भधारणका लागि तयार गर्छ, रोगको संक्रमणबाट बचाउँछ । र, अस्ट्रोजिनको उच्च उत्पादनलाई नियन्त्रण गर्छ । अस्ट्रोजिनको उत्पादन ज्यादा भएमा क्यान्सरको जोखिम हुन्छ ।

No comments: