News

Jun 16, 2009

सामान्य कुकुरको पिछा गरेर अपराधी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तालिमप्राप्त कुकुरको सहयोगमा अपराधी पक्राउ पर्नु सामान्य मानिन्छ, तर सुर्खेत प्रहरीले एउटा सामान्य कुकुरको पिछा गरेर हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ । जेठ १७ गते वीरेन्द्रनगर बसपार्कमा दैलेखवासीका डिलबहादुर नेपालीलाई आक्रमण गरी हत्या गर्ने गिरोहका तीन व्यक्तिलाई डुलुवा कुकुरको माध्यमबाट पक्राउ गरेको सुर्खेत प्रहरीले जनाएको छ । अभियुक्तहरू लाटीकोइली गाविस- ८ का जीवन भन्ने नीराजन बुढा, दिलीपसिंह ठकुरी र चक्रबहादुर रावललाई सोमबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरियो ।कार्यालयप्रमुख एसपी छविलाल जोशीका अनुसार भारतबाट काम गरेर सपरिवार घर फर्किने क्रममा १७ जेठ राति ११ बजे वीरेन्द्रनगर बसपार्कमा तीनजनाको समूहले नेपालीमाथि आक्रमण गरेको थियो । सो क्रममा आक्रमणकारीले एउटा कुकुर पनि सँगै ल्याएका थिए, जुन कुकुरलाई मृतक नेपालीकी श्रीमती सीताले याद गरेकी थिइन् । र, उनले आक्रमणकारीमध्येका एक रावलको अनुहार र हुलिया पनि राम्रोसँग सम्झेकी थिइन् । सीताको बयानको आधारमा प्रहरीले सम्भावित कुकुर र अभियुक्तको खोजी गरेको थियो । 'त्यही क्रममा हामीले एउटा आपराधिक समूहका व्यक्तिलाई समात्यौँ र उसले नै घटनाका सम्भावित अभियुक्तबारे सूचना दियो,' अनुसन्धान टोलीका प्रमुख प्रहरी निरीक्षक विष्णु सोतीले भने, 'लाटीकोइलीमा पैदल गस्ती गएका वेला सीताले भनेजस्तै कुकुर देख्यौँ र उसको पछिपछि लाग्दा अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भयौँ ।' २८ जेठ साँझ कुकुर गएको घर पत्ता लगाएको र सोही घरका व्यक्तिको सहयोगमा राति १० बजे अभियुक्तहरूलाई पक्राउ गरेको उनले बताए । कुकुर पसेको घरका व्यक्तिले सो कुकुर चक्रबहादुर रावल (घटनाका अभियुक्त) सँगै हिँड्ने गरेको जानकारी दिएका थिए । त्यही आधारमा रावल पक्राउ परेको सोतीको भनाइ छ । उनी पक्राउ परेको चार घन्टापछि राति दुई बजे अभियुक्तद्वय सिंह र बुढा पक्राउ परेका थिए । अहिले प्रहरीले तीनजनाविरुद्ध कर्तव्य ज्यानमुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।

No comments: