News

Jun 14, 2009

राष्ट्रिय निकुञ्जका गैंडा सुरक्षित भएनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन राष्ट्रिय निकुञ्जका गैंडा संरक्षणका लागि दुई हजारभन्दा बढी कर्मचारी छन् । तर, निकुञ्जका गैंडा सुरक्षित हुन सकेका छैनन् । पछिल्लो गणनामा निकुञ्जमा चार सय आठ गैंडा भेटिएका थिए । ०६४ सालको गणनायता १६ वटा गैंडा मरिसकेका छन् । निकुञ्जका अनुसार चोरी-सिकारीबाट १० वटा मारिएका र बाँकी कालगतिले मरेका हुन् ।निकुञ्ज सुरक्षाका लागि नेपाली सेना, कर्मचारी र विभिन्न्ा संरक्षणकर्मीको हिसाब गर्दा एउटा गैंडा संरक्षणका लागि ६ जना कर्मचारी पुग्छन् । तर, महिनैपिच्छे गैंडा मारिएका छन् । जेठ महिनामा मात्रै निकुञ्जका तीनवटा गैंडा मारिएका छन् । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा तथा अन्य वन्यजन्तुको संरक्षणका लागि आठ सय ५० सैनिकसहितको गोरखबहादुर गण, दुई सय सैनिकसहितको संग्रम सार्दूल गुल्म र निकुञ्जका दुई सय ७२ कर्मचारी तथा जिल्ला वन कार्यालयका कर्मचारी खटिएका छन् । यसबाहेक विश्व वन्यजन्तु कोष, तराई भू—परिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र, वन्यजन्तु संरक्षण नेपाल, वन्यजन्तु चोरी-सिकारी नियन्त्रण युवा जागरण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय उपभोक्ता समितिलगायतका दुई दर्जन बढी संघसंस्था पनि वन्यजन्तु संरक्षणकै नाममा सक्रिय छन् । कार्यपरिधि निर्धारण नहुँदा ती संस्थाले वन्यजन्तु संरक्षणको नाममा लाखौँ रुपैयाँ खर्च गर्ने गरेका छन् । तर पनि गैंडा मारिने क्रम रोकिएको छैन । मकवानपुर, चितवन, नवलपरासी र पर्सामा फैलिएको सो निकुञ्जका वन्यजन्तु संरक्षणका लागि चार सेक्टरका ४७ स्थानमा चेकपोस्ट स्थापना गरिएको छ । करिब चार किलोमिटरको फरकमा राखिएका चेकपोस्टमा निकुञ्ज प्रशासनका कर्मचारी र नेपाली सेना छन् । निकुञ्ज प्रशासनको रेकर्डमा तिनै चेकपोस्ट आसपासमा गैंडा मारिएको उल्लेख छ ।प्रमाणसहित समातिएका तस्करलाई कारबाही नहुँदा चोरी-सिकारी बढेको विभिन्न क्षेत्रबाट औंल्याइएको छ । नेचरगाइड एसोसिएसनका सचिव नकुल लामिछानेले समातिएका तस्करलाई कडा कारबाही नभएकाले गैंडा संरक्षण नभएको बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष हरिभक्त घिमिरेले प्रभावकारी रूपले खटिएका कर्मचारी परिचालन नभएकाले गैंडा संरक्षणमा समस्या देखिएको बताए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा राजनीति हस्तक्षेप हुनु र निकुञ्जलाई राजनीतिक भर्तीकेन्द्र बनाइनुले चोरी-सिकारी बढेको मृगकुञ्ज उपभोक्ता समितिका पूर्वअध्यक्ष वासु ढुंगानाले बताए । दुर्लभ गैंडासहित वन्यजन्तु संरक्षणमा मध्यवर्ती क्षेत्रका बासिन्दा सक्रिय हुनुपर्ने उनको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. नरेन्द्रबाबुमान प्रधानले पनि निकुञ्जको एकल प्रयासले मात्र वन्यजन्तु संरक्षण गर्न कठिन हुने बताए । सुरक्षा बढी भए पनि गैंडा मर्ने क्रम नरोकिएको सम्बन्धमा उनले भने, 'गैंडाको पछि-पछि कर्मचारी खटाउन मिल्दैन । स्रोत-साधन र जनशक्ति पूर्ति गर्दै आगामी दिनमा नयाँ रणनीतिसहित संरक्षणमा लाग्न विभागसँग छलफल भइरहेको छ ।'

No comments: