News

Jun 10, 2009

संसारकै होचालाई गिनिज बुकमा नाम लेखाउने अभियान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ वर्ष पुग्नै लाग्दा पनि २० इन्च उचाइ र साढे चार किलो तौल मात्र भएका बाग्लुङ, धल्लुबासकोटका खगेन्द्र थापामगरलाई गिनिज बुकमा नाम लेखाउने अभियान लिएर सोमबार राजधानी ल्याइएको छ । उनलाई बुवा रूपबहादुरसहितको शुभेच्छुक टोलीले काठमाडौं ल्याएको हो । सेतो रङको दौरा सुरुवाल, कालोकोट, ढाका टोपी पहिरिएका खगेन्द्रलाई संसारकै होचा दाबी गरिएको छ ।उनी २०४९ असोज २८ मा जन्मिएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बुवा रूपबहादुरले निहुरिंदै मायालुपूर्वक हात समाएर डुलाउँदा खगेन्द्रको टाउको मुस्किलले उनको पिंडुलासम्म पुगेको थियो । बुवाले मारेको एक फड्को पार गर्न छोरालाई चारपटक लाग्थ्यो । कुर्सीमा नढल्की बस्दा पनि खुट्टामुनि झरेका थिएनन् । कार्यक्रमकी मुख्य अतिथि परराष्ट्रमन्त्री सुजाता कोइरालाले माला पहिर्‍याइदिंदा पाउसम्म झरेको थियो । 'यस्तो सानो नानी अन्त कहीँ होला त ?' फूलको थुँगाजस्तै हलुंगो गरी काखीमा बोक्दै रूपबहादुरले सबैको जिज्ञासा बनिरहेका छोराबारे भने, 'त्यही भएर गिनिज बुकमा नाम लेखाउन खोजेका हौं ।' यसअघि भारतका २२ दशलमलब ५ इन्च उचाइका गुल मोहम्मदलाई गिनिज बुकमा 'संसारकै होचा' व्यक्ति दर्ज गरिएको थियो । 'अब नयाँ रेकर्ड राख्नुपर्छ' रूपबहादुरले आफ्नो छोराले मोहम्मदको कीर्तिमान तोडेको दाबी गरे, 'खगेन्द्र नै संसारकै होचो हो ।' आमा धनमायाको कोखबाट जेठो सन्तानका रूपमा जन्मदा खगेन्द्रको तौल कुखुराको अण्डाबाट निस्किएको चल्लाको जति अर्थात ६ सय ग्राम थियो । तीन दिनसम्म आमाको दूधसमेत थोपाथोपा गरेर खुवाउनु परेका खगेन्द्रलाई हत्केलामा राखेर तेल घस्दै हुर्काएको बुवा रूपबहादुर झल्झली सम्झन्छन् । 'जन्मेको आठ वर्षपछि हिँड्न थाल्यो' सबैखाले खाना खान रुचाउने छोराबारे उनले भने, '११ वर्षको हुञ्जेल बढेर यत्रो भयो, अहिले बढ्नेक्रम रोकियो ।' उनको खाना भनेको दिनमा चार गाँस भात, दुई चम्चा दाल र एक चिया ग्लास पानी मात्र हो । टाउको हल्का बंग्याएर छाती अगाडि ढल्काउँदै खगेन्द्र टुकुटुकु हिँडेको दृश्य कैद गर्दा फोटो पत्रकार रमाउँदै थिए । यतिकैमा 'काठमाडौं कस्तो लाग्यो' भनेर कान्तिपुरले सोध्दा बुवाको काखीमा बोकिएका बेला खगेन्द्रले भने, 'निकै रमाइलो ।' विकासका सुविधाबाट वञ्चित गाउँमा जन्मिएका खगेन्द्रको शरीर वर्षौंसम्म गाउँलेले मात्र देख्दै आएका थिए । उनको अवस्था थाहा पाएपछि पोखराका मीनबहादुर रानाले २०६२ फागुनमा पोखरामा जनसाधारणसामु साक्षात्कार गराएका थिए । 'हामीले धेरैतिर बुभदा उनको जस्तो शरीर भएका अन्त कतै छ्र्रैन' रानाले भने 'सरकारले पनि गिनिजमा लेखाउन सहयोग गर्नुपर्छ ।' विभिन्न गीत र नृत्यसहित धेरैजनालाई सम्मान गर्न शिखर नेपालले आयोजना गरेको कार्यक्रममा उनले त्यसो भनी रहँदा मञ्चबाट मन्त्री, सभासद, मुख्य सचिवसहित चार सय बढीतिर फर्किएका खगेन्द्रचाहिँ मुठ्ठी उचाल्दै घरी लाल सलाम त मुठ्ठी फुकाल्दै घरी जय नेपालको अभिवाददन गरी मुस्कुराउँदै थिए ।

No comments: