News

Jun 1, 2009

नेवा: स्वायत्त राज्यको माग गर्दै काठमाडौंमा मसाल जुलुश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी बी आङ्बुङ
नेपालमा संविधान सभामार्फत् नयाँ संविधान बन्ने प्रकृया जसोतसो चलिरहेको बेला संघीयता र स्वायत्तताको लागि लिम्बुवान, थरुहट, तमाङसालीङ र खम्बुवानको आन्दोलनसंगै अब नेवा: स्वायत्त राज्यको मागगर्दै नेवा: मन्दलको आन्दोलन पनि चर्किंदै गएको छ । यही क्रममा नेपाः स्वायत्त संयुक्त सङ्घर्ष समितिले जेठ १८ गते सोमबार नेपालमण्डल बन्द गर्ने भएको छ । ऐतिहासिक नेवा: मण्डल बन्दलाई सफल पार्नको लागि घोषणा गरिएका बिभिन्न आन्दोलनको कार्यक्रमअन्तर्गत जेठ १७ गते आईतवार काठमाडौंको बिभिन्न स्थानबाट राँके जुलुश निकालिएको थियो ।मसाल जुलुशको क्रममा नेवा: स्वायत्त राज्य- घोषणा गर, नेवा: बिरोधी- होसियार, संघीयता बिरोधी तत्व- होसियार, लगायतका नाराह्ररू लगाईएका थिए । प्रमुख राजनीतिक संगठनहरू नेवा: राष्ट्रिय मुक्ती मोर्चा, नेपा: राष्ट्रिय पार्टी र नेवा: जागरण मञ्चलगायतका संगठनहरूको सहभागीता र सकृयाता रहेको यस बन्दको आन्दोलनको समर्थन र ऐक्यबद्धता जनाउने संगठनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मञ्च सम्बद्ध स्वायत्त राज्य परिषदहरू लिम्बुवान, खम्बुवान, तमाङसालीङ र थरुहट तथा जापानमा रहेका नेवारहरूसमेत रहेका छन् । काठमाडौं ललितपुर र भक्तपुरका साथै काभ्रे र दोलखाका केही स्थानलाई समितिले नेपालमण्डल भनी तोकेको छ । माघ ३ गते नेवारहरुको बृहत् जुलुससहितको प्रतिनिधिमण्डलले निर्माणाधिन संविधानमा नेवाः स्वायत्त राज्य उल्लेख हुनुपर्ने माग गर्दै ज्ञापन-पत्र पेश गरेको थियो । सो मागबारे हालसम्म वास्ता नगरिएकाले दबाबस्वरूप यो बन्द आह्वान गर्नुपरेको बन्द आयोजकले बताएका छन् ।यसका साथै, आवास तथा भौतिक योजना मन्त्रालयले स्थानीय आदिवासी जनजातिहरूसँग कुनै सरसल्लाह र पूर्वसूचना नै नदिई काठमाडौं, भक्तपुर र ललितपुरलाई एउटै सहर बनाउने योजना अघि सारेको छ, बन्दको कारणमा यसलाई समेत लिइएको छ ।

No comments: