News

Jun 16, 2009

कांग्रेसले फोरमलाई गृहमन्त्रालय दिन सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २ सत्ता साझेदार दललाई मन्त्रालय भागबण्डा लगाउने प्रक्रियामा प्रधानमन्त्री माधवकुमार नेपाल अप्ठ्यारोमा परेका छन्। कांग्रेसले फोरमलाई गृहमन्त्रालय दिन सुझाव दिएको छ भने एमालेभित्रबाट गृहमन्त्रालय आफैँ राख्नुपर्ने दबाव प्रधानमन्त्रीमाथि परेको छ।एमालेभित्र पनि अध्यक्ष झलनाथ खनाल र केपी ओलीको समूहलाई रिझाउनुपर्ने बाध्यता प्रधानमन्त्रीलाई छ। पार्टीभित्रबाट गृहमन्त्रालय नछाड्न दबाव परिरहँदा सरकार टिकाउन मधेसवादी दललाई जसरी पनि खुशी पार्नुपर्ने बाध्यता छ। २२ दलको सहमतिमा बनेको सरकारका लागि मधेसवादी दलहरु निर्णायक शक्ति हुन्।तर मधेसवादी दलहरुले गृहमन्त्रालय आफूले पाउनुपर्ने माग नछाडेपछि आजसम्मका बैठकहरु निष्कर्षमा पुग्न सकेका छैनन्। मन्त्रालयको भागबण्डा मिलाउन सत्ता साझेदार दलहरुको बैठक मंगलबार पनि हुँदैछ। दिउँसो एक बजेदेखि सुरु हुने बैठकमा नेपाली कांग्रेस एमाले फोरमको गच्छदार समूह तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना सहभागी हुनेछन्।यो बैठकमा पुरानै गुनासा र मागहरु उठ्ने अनुमान गरेका प्रधानमन्त्रीले आफ्नो पार्टीका नेताहरुसँग मंगलबार बिहान छलफल गरेका छन्। पाँच दलको बैठक सकिएपछि प्रधानमन्त्रीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्नेछन्।कांग्रेसले यसअघि नै गृहमन्त्रालयको जिम्मेवारी फोरमलाई दिनुपर्ने धारणा अघि सारिसकेको छ। अब यो विषयलाई टुंगो लगाउन एमालेभित्रको सहमतिले निर्णायक भूमिका निर्वाह गर्नेछ।दलीय सहमति नजुट्दा सरकार गठन भएको झन्डै एक महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन।

No comments: