News

Jun 1, 2009

उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षणको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको दक्षिण कोरियाले दाबी गरेको छ । 'अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को प्रक्षेपण गर्ने तयारी गरिरहेको संकेत मिलेको छ,' दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयका एक प्रवक्ताले भने । गत ५ अप्रिलमा उत्तर कोरियाले पूर्वी तटीय क्षेत्र मुसुदान-री क्षेत्रबाट लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । दोस्रोपटक अणुबम परीक्षण गरेपछि बितेका सप्ताहमा उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव बढेको छ । अमेरिकालाई चुनौती दिँदै उत्तर कारियाले बितेका दिनहरूमा शृंखलाबद्ध रूपमा छोटो दूरीका क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले अन्तरिक्षमा भू-उपग्रह प्रक्षेपण गरेको जानकारी दिए पनि अन्य मुलुकहरूले भने क्षेप्यास्त्र नै परीक्षण गरेको दाबी गर्दै आएका छन् । आणविक परीक्षणको विषयलाई लिएर अमेरिकाको अगुवाइमा अन्तर्राष्ट्रिय क्षेत्रबाट आफूविरुद्ध कठोर नाकाबन्दी लगाइए त्यसको प्रतिकार गर्न तयार रहेको उत्तर कोरियाले चेतावनी दिएको छ । प्रतिकारका लागि थप आत्मरक्षाको नीति अवलम्बन गर्ने चेतावनी पनि उत्तर कोरियाले दिएको छ ।

No comments: