News

Jun 15, 2009

टुहुरेको स्वागतमा माओवादी अध्यक्ष प्रचण्ड नाचे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
'आमा दिदी बहिनी हो....' कलाकार जेबी टुहुरेको गीत मध्यभाग नपुग्दै माओवादी अध्यक्ष प्रचण्डले आफूलाई थाम्न सकेनन् । माओवादीका कलाकारहरूले उठाए र प्रचण्ड नाँचे छमछमी । भीडबाट प्रतिक्रिय आयो, 'प्रचण्ड गज्जबका नर्तकी रहेछन् ।' जनकलाकार जेबी टुहुरे राजधानीस्थित प्रज्ञा प्रतिष्ठानको बाहिरी चौरमा आयोजित कार्यक्रममा आइतबार माओवादीमा प्रवेश गर्दै थिए । उनलाई माला लगाएर भित्र्याउन तम्तयार थिए माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता मोहन वैद्य किरण र अन्य नेता, माओवादीसम्बद्ध कलाकारहरू । प्रचण्डले यही कार्यक्रमको अन्त्यमा कम्मर मर्काएर नाँचेका हुन् । ०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका टुहुरे एमालेको अनुशासन आयोगका सदस्यसम्म भएका थिए । चुनावमा वामपन्थीहरू एक हुनुपर्छ भन्ने धारणा एमालेले स्वीकार नगरेको, क्रान्तिकारी लाइन छाडेको आरोप लगाउँदै टुहुरेले 'नागरिक सर्वोच्चता' का लागि प्रचण्डले प्रधानमन्त्री पद त्यागेपछि प्रभावित भएर माओवादी प्रवेश गर्ने सोच बनाएको सुनाए । प्रचण्डले फूलको माला पहिर्‍याए र वरिष्ठ नेता किरणले अबिर लगाइदिए टुहुरेलाई । त्यसपछि टुहुरेले खादा ओडाइदिए प्रचण्डलाई । प्रचण्डले भावुक भएर टुहुरेतिर लक्षित गर्दै भने, 'क्रान्तिकारी सांस्कृतिक आन्दोलनको इतिहास हुनुहुन्छ जेबी टुहुरे । ६५ वर्ष पार गरे पनि उहाँमा क्रान्तिको जोस युवाहरूमा भन्दा कम छैन ।' चार दशक एमालेमा रहेर माओवादीको टीका लगाएका उनी मात्रै होइन, बुद्धिजीवीहरूको ठूलै पंक्ति माओवादीमा प्रवेश गर्ने उद्घोष पनि प्रचण्डले गरे । प्रचण्डले भने, 'प्रतिक्रान्तिकारीहरू विनासको खाल्टो आफैं खन्दैछन् । सेनापतिसँग घुँडा टेकेर आफ्नो सर्वनाश संशोधनवादीहरूले आफैं निम्त्याएका छन् ।' अब माओवादीको नेतृत्वमा एउटै कम्युनिस्ट पार्टी बन्नेसमेत उनले उद्घोष गरे । अन्तमा स्वर्गीय एकदेव आलेले रचेको 'आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै....' गाएका टुहुरेले प्रचण्डसमेतलाई नचाएका थिए । प्रधानमन्त्री पदबाट हटेपछि सार्वजनिक कार्यक्रममा देखिन छाडेका प्रचण्ड मज्जाले नाँचे ।

No comments: