News

Jun 10, 2009

पत्रकारको आवरणमा ठगी गर्दै हिँड्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कसैलाई अमेरिका पठाइदिने आश्वासन दिने त कसैलाई प्रहरीमा रहेको मुद्दा मिलाइदिने प्रलोभन देखाएर पत्रकारको आवरणमा ठगी गर्दै हिँड्ने भेषबहादुर थापा पक्राउ परेका छन् । महानगरीय प्रहरीपरिसरमा थापाविरुद्ध नौ लाख ८३ हजार ठगेको दाबीसहितका आठवटा ठगीको उजुरी परेका छन् । अमेरिका पठाइदिन्छु, प्रहरीमा अनुसन्धानका क्रममा रहेको मुद्दा मिलाइदिन्छु र प्रहरीको ठेक्का पारिदिन्छु भनेर उनले रकम लिई ठगी गर्ने गरेको महानगरीय प्रहरीपरिसर काठमाडौंका एसपी नवराज सिलवालले बताए । सिलवालका अनुसार फसेको रकम फिर्ता माग गर्दा उनले पीडितलाई उल्टै अपहरण गरेको अभियोगसमेत छ ।प्रहरीका अनुसार थापा आफूलाई पत्रकारको परिचय दिन्थे । उनले आफूलाई राष्ट्रिय नयाँ विचार दैनिकको सम्पादक हुँ भनेर प्रहरीका उच्च अधिकारीसँग भेट गरी प्रहरी कार्यालयमा मुद्दा खेपिरहेका व्यक्तिका परिवारलाई प्रभावमा पारेर मुद्दा मिलाइदिने आश्वासन दिँदै रकम उठाउन सक्रिय रहेको प्रहरीको भनाइ छ । अनुसन्धानका लागि काठमाडौंको हिरासतमा रहेका राजेन्द्र गोर्खालीको केस मिलाइदिन्छु भन्दै उनको मित प्रदीप आचार्यसँग दुई लाख लिन थापा सफल भएका थिए । परिसर प्रमुख नवराज सिलवालले परिसरमा मंगलबार भने, 'केस मिलाउन दुई लाख दिँदा पनि मेरो मान्छे नछुट्ने ? भन्दै आएपछि बल्ल ठगीको रहस्य खुल्यो ।'सिलवालका अनुसार अभियुक्त थापाले आचार्यसँग 'गोर्खालीको केस मिलाउन मुद्दा शाखाका प्रहरीलाई पैसा दिनुपर्छ' भनेर दुई लाख रकम लिएर भागेका थिए । थापाले सिन्धुपाल्चोक फुल्कोटका दोर्जे शेर्पा र सोलुखुम्बुका प्रकाश केसीलाई अमेरिका पठाइदिन्छु भनेर एक लाख ६० हजार रकम ठगी गरेका थिए । पीडितमध्ये प्रकाशले थापासँग आफ्नो रकम फिर्ता माग गर्दा उनले केसीको अपहरणसमेत गरेको सिलवालले बताए । थापाले कास्की पुरानचौरका विनोद अधिकारीलाई अमेरिकी दूतावासमा जागिर लगाइदिन्छु भन्दै ४० हजार ठगेको र चितवन भरतपुरका बेली पौडेललाई अमेरिकामा सेमिनारमा पठाइदिने प्रलोभन देखाएर दुई लाख ४३ हजार ठगेको अभियोग छ ।थापाले प्रहरीलाई समेत ठगेको उनको अभियोगपत्रमा उल्लेख छ । थापाले कारबाहीमा परेका सशस्त्र प्रहरीका जितेन्द्र गजुरेल र सुरेशप्रसाद कोइरालालाई पुनर्बहाली गराइदिन्छु भनेर एक लाख १५ हजार ठगी गरेका थिए ।प्रहरीका अनुसार थापाबाट ठगिनेहरू धेरै छन् । कार्यालयमा थापाविरुद्ध उजुरी गर्न आउनेको संख्या बढिरहेको उल्लेख गर्दै सिलवालले उनको साथबाट एसएलसीको नक्कली सर्टिफिकेटसमेत बरामद भएकाले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको बताए ।

No comments: