News

Jun 8, 2009

बनेपामा अनिश्चितकालीन कर्फ्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तामाङसालिङ स्वायत राज्य घोषणाको माग गर्दै एकीकृत माओवादीले आहवान गरेको बन्दका क्रममा बन्दकर्ता र स्थानीय बासिन्दाबीच भएको दोहोरो भिडन्तमा दर्जनौं घाइते हुनुका साथै लाखौंको क्षति भएको छ। स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनले आइतबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि अरनिको राजमार्गअर्न्तर्गत साँगाभन्ज्याङदेखि धुलिखेलको २८ किलोसम्म कर्फ्र्यु लगाएको छ। कर्फ्र्युका कारण बेलुका बनेपा बजार सुनसान थियो भने माओवादी र एमाले पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। बन्द अवज्ञा गरेको भन्दै धुलिखेल रुटमा बस चलाउने साँगाका रामकृष्ण मानन्धरको बा६प ३६२४ नम्बरको मोटरसाइकल जलाउनुका साथै मानन्धरलाई कुटपिट गरी घाइते बनाएपछि यातायात मजदुर र स्थानीय बासिन्दाले माओवादीको कार्यालय तोडफोड गर्न थाल्दा तनाव चर्किएको थियो।प्रहरी प्रशासनले बनेपामा रहेको माओवादी कार्यालय तोडफोड रोक्न खोज्दा स्थानीय बासिन्दा र प्रहरीबीच भएको भिडन्तमा दुवैतर्फा झन्डै तीन दर्जन व्यक्ति घाइते भएका छन्।एकीकृत माओवादीको कार्यालयमा सामान्य तोडफोड भए तापनि बागमती गुल्मका प्रहरी निरीक्षक दीपक खनालको नेतृत्वमा खटेको सुरक्षाकर्मीको टोलीले प्रतिकार समूहलाई तितरबितर पार्न तीन राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो। यता प्रतिकारमा उत्रिएका व्यक्तिहरूले प्रहरीमाथि ढुङ्गा र बोतलले गल्लीगल्ली र छतबाट समेत प्रहार गरेका थिए। भिडन्तका क्रममा घाइते भएका साँगा नासिका-३ का केशव खड्गी, सिनागाल-६ की रितिका बानियाँ, र्याले-७ का भीमप्रसाद सापकोटा, बनेपा-१० का प्रमोद लामा, बनेपाका गणेश श्रेष्ठ, फूलबारी-५ का प्रकाश सत्याल, सोही ठाउँका राजु सत्याल, भकुण्डे खनालथोकका पुष्कर न्यौपानेलगायतको बनेपास्थित शिरमेमोरियल अस्पतालमा र स्थानीय मेडिकलहरूमा उपचार भइरहेको छ। कर्फ्यु उल्लंघन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। घाइतेमध्ये केहीलाई ढुंगा र तरबारले समेत प्रहार गरिएकाले गम्भीर चोट लागेको थियो। झडपका क्रममा प्रहरी निरीक्षक दीपक खनाल, प्रहरी जवान लक्ष्मण सिंह, सामिनाथ यादव र प्रकाश गुरुङ घाइते भई बनेपा अस्पतालमा उपचार गराइरहेको प्रहरीले जनाएको छ। त्यसै गरी बन्द आहवानकर्ताहरूले चन्द्रमान रञ्जितकारको बनेपा पुलबजारमा रोकी राखेको बा६च ९२८ नम्बरको टाटामोबाइलसहित आधा दर्जन गाडी तोडफोड गरेका छन्। प्रहरीले दिएको जानकारीअनुसार बा१क ५९१० नम्बरको पर्यटक बोकेको माइक्रोबस, ना३ख ७०४९ नम्बरको ट्रक, ना३ख ९१९४ नम्बरको एलपी ट्रक, बा६च ३०८९ नम्बरको बलेरो, बा५च ३४५३ नम्बरको बलेरो, ना२ख २२२२ नम्बरको गाडी बन्दकर्ताहरूले बिहानै बनेपामा तोडफोड गरेका थिए। तोडफोड र आगजनीमा संलग्न दुई जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनालाई एकीकृत माओवादीले सुनियोजित भएको आरोप लगाएको छ। माओवादीका स्थानीय नेता मीनबहादुर तामाङ ज्वालाले घटनामा एमालेको युथफोर्स संलग्न रहेको नेपाल समाचारपत्रलाई जानकारी गराए। घटनामा एमालेका जिम्मेवार नेतासमेत संलग्न रहेको उनले आरोप लगाए। त्यसै गरी युथफोर्सका जिल्ला अध्यक्ष मुक्ति विष्टले चाहिँ र्सवसाधारण जनताको आक्रोशले यो घटना भएको घटनामा युथफोर्सको संलग्नता छैन भने।बन्द र भिडन्तका कारण स्थानीय रूपमा परम्परागत रूपमा मनाउँदै आएको पनौतीको ऐतिहासिक ज्यापुन्ही जात्रा प्रभावित भएको छ। बन्दका कारण यातायात सञ्चालन नहुँदा हरेक जेठ पूणिर्माका दिन उन्मत्त भैरव र भद्रकालीको रथ जुधाउने जात्रामा आउने दर्शनार्थीहरूको संख्या कम भएको स्थानीय बासिन्दाहरूले जनाएका छन्।

No comments: