News

Jun 12, 2009

बालिका अपहरण गर्ने दुई अपहरणकारीलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बालाजु माछापोखरीकी १० वर्षीया बालिका अपहरण गर्ने दुई अपहरणकारीलाई स्थानीयवासीले स्वयम्भूबाट पक्राउ गरी प्रहरीमा बुझाएका छन् । पक्राउ पर्नेमा काभ्रे माझीफेदा-७ का २७ वर्षीय विदुर गौतम र नुवाकोट भद्रटार-१ का रवि श्रेष्ठ छन् । चारजनाको संख्यामा आएका अपहरणकारीले वनस्थलीस्थित सौर्यदीप बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत मोनिकापिया श्रेष्ठलाई स्कुलअगाडिबाटै अपहरण गरेका थिए ।बा३३प २९९१ नम्बर र नम्बरप्लेटको भित्रपट्टि बा३०प ४४८८ नम्बर लेखिएको मोटरसाइकलमा आएका अपहरणकारीले बिहान स्कुल गइरहेकी बालिका मोनिकालाई मुख थुनेर कलंकीतिर लैजाँदै गर्दा स्थानीयवासीले स्वयम्भूको नाम्गेलचोक पुगेपछि पक्राउ गरेका हुन् । पक्राउ गरी प्रहरीलाई बुझाउनुअघि स्थानीयवासीले अपहरणकारीलाई कुटपिटसमेत गरेका थिए । बालिकालाई मुक्त गरेपछि स्थानीयवासीले अपहरणकारीको मोटरसाइकल जलाइदिएका छन् । बालिकाका आफन्त र स्थानीयवासीले अपहरणकारीलाई आफैंले कारबाही गर्न पाउनुपर्ने माग गर्दै प्रहरी कार्यालय वनस्थलीअगाडि नाराबाजीसमेत गरेका थिए । सुरुमा प्रहरीले अपहरणकारी भगाएको आरोप लगाएका स्थानीयवासी अपहरणकारीलाई बालाजु चौकी लगिएको जानकारी पाएपछि उतैतिर गएका थिए ।बालिकाका आफन्तले बालाजु चौकीअगाडि चर्का नाराबाजी गर्न थालेपछि भीड तितरबितर पार्न प्रहरीले लाठीचार्जसमेत गरेको थियो । बालाजु लगेपछि महानगरीय प्रहरी प्रभाग बालाजुकी डिएसपी मीरा चौधरीको कमान्डमा पक्राउ परेका दुई अपहरणकारीलाई सार्वजनिक गरिएको थियो ।चार अपहरणकारीमध्ये मुख्य नाइकेसहित दुईजना भने फरार भएको डिएसपी चौधरीले बताइन् । पक्राउ परेका एकजना बालाजु गोलढुंगामा कुखुरा फार्म चलाएर बसेको र अर्का एकजना कक्षा नौमा पढ्दै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको चौधरीले जानकारी दिइन् ।अपहृत बालिकाकी आमा पपलापिया श्रेष्ठको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले अपहरणकारीको अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको महानगरीय प्रहरी प्रभाग बालाजुकी डिएसपी चौधरीले बताइन् ।

No comments: